ताथली जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषित

भक्तपुर, फागुन २१

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ताथली स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषित भएको छ ।
स्वास्थ्य चौकीले दिइरहेको सेवा, सुविधालगायतलाई मूल्यांकन गरी स्वास्थ्य कार्यालय भक्तपुरले सो स्वास्थ्य चौकीलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो । भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा रहेका स्वास्थ्य केन्द्रहरुको न्युनतम सेवा मापदण्डको मूल्यांकनमा ताथली सर्वोत्कृष्ट भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो ।
मापनका क्रममा मापदण्डका सबै सूचकहरुमा उत्कृष्ट अंक ल्याएर ताथली हेल्थ पोष्ट जिल्लामै सर्वोत्कृष्ट भएको जानकारी दिँदैं उहाँले सर्वोत्कृष्ट स्वास्थ्य चौकीलाई नगद पाँचहजार रुपैयाँसहित सम्मान गरिएको बताउनुभयो ।
त्यस्तै जिल्लाका अन्य उत्कृष्ट हेल्थ पोष्टमा दोस्रोमा छालिङ स्वास्थ्य चौकी र तेस्रोमा गुण्डु स्वास्थ्य चौकी भएका छन् । ताथलीमा आयोजित एक कार्यक्रममा सो स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षकहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सर्वोत्कृष्ट स्वास्थ्य चौकीको सम्मान पाउन सफल ताथली हेल्थ पोष्टका इन्चार्ज हरिनारायण प्रसाद साहले टिमवर्क र व्यवस्थापन समितिका पदाधिकारीहरुको साथ, सहयोगले चौकी सर्वोत्कृष्ट भएको बताउनुभयो ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाकी डा. पोमावती थापाले सम्मान पत्र प्रदान गर्दै सर्वोत्कृष्ट हुन सफल ताथली हेल्थ पोष्टको सरसफाइ तथा व्यवस्थापनबाट आफू प्रभावित भएको बताउनुभयो । उहाँले जनताको नजिकको स्वास्थ्य केन्द्रहरुलाई सबल बनाएर नागरिकको स्वास्थ्यको अधिकारलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य चौकीहरुले भूमिका निर्वाह गरिरहेको बताउँदै ताथली स्वास्थ्य चौकीको अभ्यास सबैका लागि अनुकरणीय रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले वडा समितिले स्वास्थ्यलाई प्राथमिकता राखेको बताउँदै चौकीको स्तरोन्नति गरी स्वास्थ्य सेवाको भरपर्दो केन्द्र बनाउने योजना रहेको बताउनुभयो ।