रोमाञ्चक खेलमा युएईलाई ७ रनले हराउँदैं नेपाल ८ वर्षपछि विश्वकपमा

भक्तपुर, फागुन १८
दिपेश कँडेलको ह्याट्रिक विकेट मद्दतले नेपाली यु–१९ युवा क्रिकेट टोली युएईलाई हराउँदैं विश्वकपमा प्रवेश गरेको छ । आइसीसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटमा बिहिवार घरेलु टोली युएईलाई रोमाञ्चक खेलमा ७ रनले पराजित गर्दै नेपाल ८ वर्ष पछि यु–१९ विश्वकपमा प्रवेश गरेको हो ।
जितको लागि १९२ रनको विजयी लक्ष्य पछ्याएको युएई १८५ रनमा अल आउट भयो । दिपेश कँडेलले ४७ औं ओभरमा ३ विकेट लिँदै ह्याट्रिक गरेपछि नेपालको जित पक्का भएको हो । जितका लागि युएईलाई ८ रन आवश्यक भएको अवस्थामा दिपेशले ४७ औं ओभरमा लगातार ३ विकेट लिएर नेपाललाई जित दिलाएका हुन ।
युएईका लागि इथान काल्लले ६६ बलमा ५० रन बनाउँदा आर्यान सक्सेनाले ३४ रन बनाए । आर्याश शर्माले ३२ तथा अम्मर बदामीले १९ रन बनाए । पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले १७.२ ओभरमा ६७ रनको साझेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए ।


नेपालले पाँच रनको अन्तरमा थप दुई विकेट लिँदै ७२–३ को अवस्थामा पुर्याएको थियो । चौथो विकेटका लागि ध्रुव र सोल्झाले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सुवास भण्डारीले २२ औं ओभरको अन्तिम बलमा कप्तान आयन खानलाई कप्तान देव खनालबाट शुन्यमा क्याच गराएपछि नेपाल खेलमा फर्किएको थियो । स्पिनर दिपेश कँडेलको बलमा विशाल विक्रम केसीले लङअनमा सानदार क्याच लिदै ध्रुव पराशरलाई १७ रनमा पेभेलिएन फर्काएका थिए ।
नेपालका लागि दिपेश कँडेलले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ५ तथा सुवास भण्डारी १० ओभरमा ३९ रन खर्चेर २ र हेमन्त धामीले ८ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि आजमान रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.५ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । देव बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
एक समय १९–३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि उत्तम थापामगर र देव खनालले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्काएका थिए । स्पिनर आयन खान अफ्जलको बलमा एलबीडब्लू आउट हुनु अघि उत्तमले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
यी दुई ब्याटरपछि भने नेपालबाट राम्रो साझेदारी हुन सकेन । नेपालले लगातार विकेट गुमाई रह्यो र मध्यम योगफलमै रोकियो । मिलन बोहरा २१ बलमा १ चौकासहित १० रनमा रन आउट भए । हेमन्त धामी १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । दिपेश कँडेल १५ रनमा आउट भए ।
युएईका कप्तान आयन खानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । हरितहर्ष सिट्ठीले दुई विकेट लिए । ध्रुव परासरले ६.५ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए ।


नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।
नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । त्यसपछि नेपालले यु–१९ विश्वकप खेल्न सकेको थिएन । २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा युएईसँग एक रनले पराजित भएको थियो । त्यहीँ एक रनको कारण २०२० मात्रै होईन २०२२ को पनि विश्वकप खेल्न पाएन । २०२१ मा कोरोनाको कारण यु–१९ विश्वकप एसिया क्षेत्र छनोट हुन नसक्दा युएईले नै पुनः मौका पाएको थियो ।
सन् १९८८ देखि सुरु भएको यु–१९ विश्वकपमा नेपालले २००० मा डेब्यू गरेको थियो । नेपालले २००० देखि २०१६ सम्म ७ पटक यु–१९ विश्वकप खेलेको थियो । नेपालले २००० देखि २००८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । त्यसपछि २०१२ र २०१६ मा यु–१९ विश्वकप खेलेको थियो ।
सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो ।