मध्यपुर थिमिका जनप्रतिनिधिहरुलाई मौलिक नाम सम्बन्धी अभिमुखीकरण

भक्तपुर, फागुन १६
मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरुलाई नगरका मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन सम्बन्धमा मंगलवार अभिमुखीकरण गरिएको छ । नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन समितिले नगरप्रमुखलगायत कडाअध्यक्ष, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुलाई सो सम्बन्धमा अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा समितिका संयोजक ई. राजेन्द्र श्रेष्ठले कुनै पनि स्थानको मौलिक पहिचान स्थापित गरी भावी पुस्तालाई सो को महत्व बताउन स्थान विशेषको मौलिक नामाकरण आवश्यक भएकोले यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले विश्वमा सन् १८०० देखी मौलिक पहिचानसहितको नामको संरक्षण गर्ने अभियान शुरु भएको जानकारी दिँदैं संयुक्त राष्ट्र संघले समेत छुट्टै समिति गठन गरी मौलिक नामाकरणको सम्बन्धमा कार्य गर्दै आइरहेको बताउनुभयो ।


त्यसैगरी समितिका सदस्य सचिव तुलसीभक्त तकोले समितिको उद्देश्य, काम कर्तव्य अधिकार, मौलिक नामाकरणका सूचांक, विधि, पद्धतीका बारेमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरमा बढ्दो शहरीकरण र बस्ती विकाससँगै स्थानीय पहिचान सहितको मौलिक नामहरु लोप हुने अवस्था आएकोले नगरपालिकाले स्थानीय अभियन्ता र विज्ञसहितको समिति गठन गरी मौलिक नामको संरक्षण कार्य शुरु गरिएको बताउनुभयो ।
उहाँले समिति गठनको छोटो समयमा उल्लेख्य कार्य गरेको भन्दै समितिको सिफारिसमा आगामी वर्षदेखी नै मौलिक नामाकरणको थालनी गर्ने जानकारी दिनुभयो ।
उहाँले नगरका विकास निर्माण राजनीति नगर्न आग्रह गर्दै निर्वाचनमा दलको प्रतिनिधिको रुपमा उम्मेदवार भएपनि विजयी भईसकेपछि जनताको प्रतिनिधि भएकाले विकास निर्माणमा कहिल्यै पनि पूर्वाग्रह नहुने स्पष्ट पार्नुभयो ।
विकास निर्माणमा अवरोध गर्न खोज्ने जो कोहीलाई पनि नगरपालिकाले माफी दिन नसक्ने चेतावनी दिँदैं नगरप्रमुख श्रेष्ठले चालु आर्थिक वर्ष चुनावी वर्ष समेत भएकाले पहिलो त्रैमासिकमा विकास निर्माण कार्यले गति लिन नसकेपनि पुस महिना यता तिब्रता पाएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले मौलिक नामावली संकलन, त्यसको पुस्ट्याई र कार्यान्वयन विधिका बारेमा जिज्ञासा राख्नुभएको थियो ।