नेपालको नयाँ राष्ट्रपतिमा दुई पुर्व सभामुख आमनेसामने

भक्तपुर, फागुन १३
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा दुई पुर्व सभामुख आमनेसामने भएका छन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिवार नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत जमाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेसँगै राष्ट्रपति निर्वाचनमा दुई पुर्व सभामुख आमनेसामने भएका हुन ।
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् ।
त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको प्रस्तावकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् । समर्थकमा एमालेकै नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा (रावल) र अमनकुमार मास्के रहेका छन् ।
राष्ट्रपतिका उम्मेदवार पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म प्रतिनिधि सभाका सभामुख हुनुभएको थियो । नेम्वाङ २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म संविधान सभाको अध्यक्ष हुनुभएको थियो भने २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो संविधानसभामा पनि अध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो ।
पौडेलको जन्म वि. सं. २००१ असोज २९ गते तनहुँको मिर्लुङ, बाहुनपोखरामा मध्यमवर्गीय किसान परिवारमा भएको हो । हाल काठमाण्डौंको बोहोराटारमा बस्दै आउनुभएका पौडेलले नेपाली साहित्य, शास्त्री (संस्कृत) मा स्नाताकोत्तर गर्नुभएको छ ।
पौडेलले २०४७ पछिका आम निर्वाचनमा भाग लिँदै आउनुभएको छ । पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालको चुनावमा तनहुँबाट निर्वाचित हुनुभएको थियो भने ०७४ सालमा पराजित भएको थियो ।
पौडेल २०१५ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भएका हुन् । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था खारेज गर्दै पञ्चायती व्यवस्था लागु गरेपछि उहाँले प्रजातन्त्र पुनर्प्राप्तीका लागि संघर्ष शुरु गर्नुभएको थियो । कांग्रेसका संस्थापक वि पि कोइरालाको सामिप्यतामा रहेर काम गर्नुभएका पौडेललाई शालिन व्यक्तित्व मानिन्छ ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले संविधानको रक्षा आफ्नो प्रमुख कार्यभार रहने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्रका लागि ७० वर्ष लड्नुप¥यो । ७० वर्षसम्म लडेर ल्याएको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रले नेपाली जनतामा जुन अभुतपूर्व अधिकार प्रदान गरेको छ । त्यसको रक्षा गर्नको निम्ति आएको छु ।”
पौडेल प्रजातन्त्रका लागि आवाज उठाउँदा पटक पटक जेल पर्नुभयो । पहिलो पटक २०१८ को भरतपुर काण्डको विरोधमा उत्रदा गिरफ्तार भई जेल पर्नुभयो । २०३४ सालमै कांग्रेसको केन्द्रीय सदस्य भएका उहाँ राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्मको अवधिमा पटक पटक गरी १४ वर्ष जेलमा बन्दी जीवन बिताउनुभएको छ । ‘रामचन्द्रका १४ वर्ष वनबास’ भनेर राजनीतिमा चर्चित पनि छ ।
पौडेलका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा पत्रपत्रिका र अनलाइन सञ्चार माध्यममा समसाययिक लेख प्रकाशित छन् ।
त्यसैगरी २००९ साल फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ हाल काठमाडौंको बालुवाटारमा बस्दै आउनुभएको छ । नेम्वाङले प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउँदैं प्राध्यापक संघमा सक्रिय हुँदैं नेपाल बार एसोसिएसनको महासचिव पनि बन्नुभएको छ ।
उम्मेदवारी दर्तापछि नेम्वाङले विगतमा संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको र त्यही संविधानको संरक्षक हुने उद्देश्यका साथ अघि बढेकोले आफ्नै नाममा राष्ट्रिय सहमति हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
नेम्वाङ स्नातक अध्ययनका क्रममा २०२८ सालबाट राजनीतिमा होमिनु भएको हो । पञ्चायती शासन विरुद्ध कांग्रेसले कम्युनिस्टसँग सहकार्यको हात बढाउँदै गर्दा नेम्वाङ पनि राजनीतिमा होमिएका हुन् । पञ्चायती व्यवस्थाका विरुद्ध आफूलाई उभ्याएका कारण २०३३ सालमा नेम्बाङ राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा परे । उहाँ थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डिनेनेशन केन्द्रमा संगठित भएका थिए ।