राष्ट्रपति चुनावबारे माओवादी केन्द्रमा अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

भक्तपुर, फागुन ८
नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचन बारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमवार बसेको पार्टी केन्द्रीय पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचन बारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।
पदाधिकारी बैठकले सकेसम्म ३ वटा स्वार्थसहितको सहमति खोज्ने, नभए प्रधानमन्त्री प्रचण्डले अन्तिम निर्णय लिने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । गणतन्त्र र संविधानको रक्षा‚ शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र दलहरूसँग सकेसम्म राष्ट्रिय सहमति खोजेर राष्ट्रपति उम्मेदवारी मनोनयनको एक दिन अगाडिसम्म उम्मेदवारको टुंगो लगाउने महराले बताउनुभयो ।
‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष कृष्णबहादुर महराले भन्नुभयो, ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो । यो कोसँग मिल्छ, हेर्दै जानुहोला ।’
उहाँले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने नै पार्टीको नीति हुनुपर्नेमा छलफल केन्द्रीकृत भएको जानकारी दिँदैं फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताउनुभयो ।