जलवायु परिवर्तन, वन ऐन र नियमावलीका बारेमा सूर्यविनायकका जनप्रतिनिधिलाई अभिमुखीकरण

भक्तपुर, फागुन ४
डिभिजन वन कार्यालय भक्तपुरले बुधवार सूर्यविनायक नगरपालिकाका प्रमुख, उपप्रमुखसहित कार्यपालिका सदस्यहरुलाई जलवायु परिवर्तन, वन ऐन र नियमावलीका बारेमा अभिमुखीकरण गरेको छ ।
जलवायु परिवर्तनले स्थानीय स्तरमा पार्ने प्रभाव र यसको न्यूनिकरणका लागि स्थानीय तहको भूमिका तथा वन ऐन २०७६ र वन नियमावली २०७९ ले स्थानीय तहलाई प्रदान गरेको अधिकारका बारेमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई जानकारी दिने उद्देश्यले सो अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (आईएफएडी)का निराजन खड्काले जलवायु परिवर्तनले पार्ने प्रभाव र यसको न्यूनिकरणका लागि स्थानीय तहले पार्ने प्रभावका बारेमा अभिमुखीकरण गर्नुभयो ।
उहाँले यसवर्ष प्रशान्त महासागरमा वाफ कम बनेको र तातो हावा कम मात्रामा उत्पादन भएको कारण चाप कम भएको कारण जम्बु कस्मीरका ज्यादा हिउँ परेपनि नेपालमा हिउँदे वर्षा हुन नसकेको बताउनुभयो । उहाँले केही मात्रामा पश्चिमी वायु नेपाल प्रवेश गरी कर्णालीको हुम्ला, मुगु तिर केही मात्रामा हिउँसहितको वर्षा भएपनि नेपालका मध्यपच्चिमदेखी पुर्व पानी पर्न नसकेको बताउनुभयो ।
यसवर्ष नेपालमा हिउँदे वर्षा औसत १३ मिलि मात्र पानी परेको र यो एकदम खडेरीको अवस्था भएको बताउँदैं खड्काले कम पानी पर्नु र यस्तो खडेरीले लामो समयसम्म असर गर्ने बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनको असर कम गर्न हरितगृह ग्यास जुन जुन स्रोतबाट निस्कन्छ त्यो स्रोत कम गर्ने वा टाल्ने, योजना सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्ने सुझाव दिँदैं जलवायु परिवर्तनको असर कम गर्न योजना सञ्चालन गर्दा प्राकृतिक प्रक्रियामा कम असर पर्ने गरी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अग्ला स्थानमा पोखरी निर्माण गरी जमिनमा पानी रिचार्ज गर्ने, सडक निर्माण गर्दा पानी रिचार्ज हुने प्रविधि प्रयोग गर्ने, वनसँग समन्वय गरी रुख विरुवा जोगाउने, संरक्षण गर्ने र वन क्षेत्रको विकास गर्नेलगायतका कार्य गरी जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने सुझाव दिनुभयो ।


त्यसैगरी डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख प्रेमप्रसाद सापकोटाले वन ऐन २०७६ र वन नियमावली २०७९ ले स्थानीय तहलाई प्रदान गरेको अधिकारका बारेमा अभिमुखीकरण गर्दै जिल्लाका चार पालिका मध्ये सबैभन्दा धेरै सूर्यविनायक नगरपालिकामा कुल क्षेत्रफलको २९ दशमलव ६१ प्रतिशत वन क्षेत्र रहेको जानकारी दिनुभयो ।
उहाँले वन ऐन र नियमावलीले घरायशी प्रयोजनका लागि एक स्थानीय देखी अर्को स्थानीय तहसम्म वन पैदावर ओसारपसार गर्न, शहरी वनको अवधारणा अनुसार वन क्षेत्र निर्माण गरी दर्ता गर्न, सार्वजनिक स्थानको रुख विरुवाको संरक्षण गर्ने अधिकारी स्थानीय तहलाई प्रदान गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रमुख सरिता भट्टराई, वडा अध्यक्ष एवम् नगर प्रवक्ता रविन्द्र सापकोटा, वडाअध्यक्षहरु प्रदिप कार्की, भगवान केसी, लच्छुराम न्यौपानेलगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले वन क्षेत्रको संरक्षण र सार्वजनिक स्थानका रुख बिरुवाको संरक्षणका लागि कारवाहीका कडा कानुनी व्यवस्थासहितको ऐन ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।