स्वस्थ जीवन प्रवर्धनका लागि चाँगुनारायणका जनप्रतिनिधिलाई अभिमुखीकरण

भक्तपुर, माघ २४
नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दै गएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको छ । केन्द्रको स्वस्थ जीवन प्रवर्धन कार्यक्रम अन्तर्गत मंगलवार एक दिने अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधिहरुलाई आयुर्वेद स्वास्थ्य केन्द्रले उपलब्ध गराउँदैं आएको सेवा सुविधाको बारेमा जानकारी दिनुका साथै आयुर्वेद उपचारका फाइदाका बारेमा अभिमुखीकरण गराईएको केन्द्रका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले बताउनुभयो । गिरीले सहभागीलाई नसर्ने रोग र स्वस्थकर जीवनशैलीका बारेमा अभिमुखीकरण गराउनुभएको थियो ।


उहाँले नसर्ने रोगको प्रकोपका बारेमा सबै जना सचेत रहनुपर्ने भएकाले र स्वस्थकर जीवनशैली अपनाएर नसर्ने रोगको प्रकोप न्यूनिकरण गर्न सकिने भएको हुँदा त्यसबारे अभिमुखीकरणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । केन्द्रका बरिष्ठ बैद्य शान्ता के.सीले कार्यालयको परिचय, उपलब्ध सेवा र कार्यलयका कार्यक्रम र गतिबिधिका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरभित्र नसर्ने रोगको प्रकोप बढ्दै गएको सन्दर्भमा आयुर्वेद उपचार पद्धती र यसका औषधीहरुको बारेमा नगरभित्र सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै आयुर्वेदको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर संचालन र ब्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी सबैको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । सो अवसरमा सहभागीको रक्तचाप, सुगर, बि. एम. आई., पिसाबमा एल्बुमिनका लागि डिप स्टिक परीक्षण र दीर्घ श्वास प्रश्वास सम्बन्धि स्क्रिनिङ गरिएको थियो ।