संसदमा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निर्वाह गरेन – बिजुक्छें

भक्तपुर, माघ २१
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले संसदमा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निर्वाह नगरेको टिप्पणी गर्नुभएको छ । शुक्रवार आयोजित ख्वप इन्जिनियरिङ कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १४ औं वार्षिकोत्सव कार्यक्रममा सत्तापक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्ने संसदिय परम्परा विपरित संसदमा प्रतिपक्षले सो अनुसार भूमिका निर्वाह नगरेको बताउनुभएको हो ।
“संसदमा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निभाइरहेको छैन । सत्तापक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्नुपर्छ । त्यसको लागि प्रमुख प्रतिपक्ष सँधै तयार हुनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले नेपाल अहिले पश्चिमेली प्रजातन्त्र असफल भई चीनको प्रजातन्त्रतिर जाँदै गरेको बताउनुभयो ।


बिजुक्छेँले विभिन्न विश्वविद्यालयबारे अध्ययन तथा छलफल गर्नु आवश्यक भएको बताउँदैं जुन देशको राजनीति राम्रो हुन्छ त्यस देशको शासन व्यवस्था पनि राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले शैक्षिक संस्थाहरूमा तालाबन्दी, तोडफोडका घटनाहरू हुन नहुने बताउँदैं प्राध्यापकहरूले विद्यार्थीहरूलाई वैचारिक संघर्ष गर्न सिकाउनुपर्ने र विषयगत हिसाबले ख्वपका विद्यार्थीहरू अरुको तुलनामा अब्बल हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदारीकरणको नाउँमा शिक्षालाई निजीकरण गरिँदा गरिब जनताका छोराछोरीहरूका लागि उच्च शिक्षा हासिल गर्नु चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो ।


उहाँले शिक्षाको लागि मात्रै देशको झण्डै १ खर्ब रुपैयाँ बाहिरिने गरेको तथ्यांक प्रस्तुत गर्दै देशका सबै कलेज र विश्वविद्यालयहरू स्तरीय भइदिएको भए पढाइको निम्ति विदेशिने विद्यार्थीको संख्या घट्दै जाने बताउनुभयो ।
शिक्षा राज्यको दायित्व हुनुपर्छ भन्ने हाम्रो मान्यता छ भन्दै उहाँले देशभरिका निजी शैक्षिक संस्थाहरू सञ्चालनमा रहेको अवस्थामा भक्तपुर नपाबाट सञ्चालित कलेजहरू सफलतापूर्वक अगाडि बढिरहेको सबैको लागि उपलब्धीपूर्ण भएको बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप सर्कलका शैक्षिक संस्थाहरू जनताको आशाको केन्द्रको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले सिद्धान्त र विचार विनाको राजनीतिको कुनै अर्थ नभएको बताउँदै सांसद गोसाईले शासक दल पद र पैसाकै राजनीति वरपर घुमिरहेको छ जुन देश र जनताको हितमा नभएको बताउनुभयो । देशघाती सन्धि सम्झौता र अन्यायको विरोधमा नेमकिपाको संघर्ष जारी रहने उहाँले बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले इन्जिनियरिङ क्षेत्रमा आमूल परिवर्तनको काम ख्वप इन्जिनियरिङ कलेजबाट भएको बताउँदै नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू देश र जनताको सेवामा समर्पित भएको बताउनुभयो ।


त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशिधरराम जोशीले इन्जिनियरिङ विषय आफैमा उच्च गतिमा विकास भइरहेको बताउँदै इन्जिनियरिङ शिक्षाले देशको विकासमा पनि तीव्रता दिइरहेको प्रष्ट पार्नुभयो ।
त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन प्रा.इ. देवीप्रसाद भट्टराईले समुदायमा आधारित ख्वप इन्जिनियरिङ कलेजले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सो अवसरमा २० वर्ष सेवा गर्ने कर्मचारी, प्राध्यापकहरुलाई सम्मान पत्र तथा वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताहरुका विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।