आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन

भक्तपुर, माघ १२
माघ शुक्ल पक्ष पञ्चमी अर्थात श्रीपञ्चमीको अवसरमा बिहिवार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पुजा आराधना गरी मनाईंदैछ । बसन्त ऋतुको शुरुवात हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ ।
विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको विशेष पुजा अर्चना गर्छन् । यसदिन विद्यार्थीले पुस्तक, कलम लगायत सामग्री तथा संगीत साधकले वाद्ययन्त्रको पुजा गर्छन् । यसैदिन साना बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ ।
देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पुजाबारे उल्लेख छ । सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्मको आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ ।
पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ । सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसंग प्रख्यात छ । यस्तै अर्को प्रसंगमा ब्रह्माजीको मुखबाट उत्पत्ति भएको उल्लेख छ । त्यसैले पनि सरस्वतीलाई वाग्देवी (वाक् देवी) भनिन्छ ।
यसैबीच श्रीपञ्चमीको अवसरमा भक्तपुरका विभिन्न सरस्वती मन्दिरमा भक्तजनको घुईंचो लाग्ने गरेको छ । विद्याकी देवी सरस्वतीको पुजा आराधना गर्न भक्तपुरको चाँगुनारायण नगरपालिका १, सरस्वतीखेल र वडा नं. ८ सुडालस्थित मञ्जुश्रीले समेत परिचित सरस्वती मन्दिरमा भक्तजनको घुईंचो लाग्ने गरेको हो ।