मानव जातिको रक्षाको लागि योग साधना अपरिहार्य – प्रधानमन्त्री प्रचण्ड

तस्बिर: प्रधानमन्त्री प्रचण्डको सचिवालय।

भक्तपुर, माघ १
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको रक्षाको लागि योग साधना अपरिहार्य रहेको बताउनुभएको छ । ८ औं राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुरको सानो थिमिस्थित सिटिईभिटीको प्रांगणमा आयोजित मुल समारोह कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भौतिक विकासले मात्रै मानव जातिको रक्षा गर्न नसक्ने भन्दै त्यसका लागि योग साधना अपरिहार्य रहेको बताउनुभएको हो ।
“भौतिक विकासले मात्रै मानव जातिको रक्षा गर्न सक्दैन । मानव जातिको निम्ति भौतिकको साथसाथै अत्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य छ । त्यस खालको सन्तुलन कायम राख्नको लागि योग ध्यान सर्वोत्तम उपाय हो भन्ने कुरा वैज्ञानिकरुपले पुष्टि भइसकेको छ,” उहाँले भन्नुभयो ।
उहाँले भौतिक र शारिरीक रुपले स्वस्थ मात्र होइन चेतनाको हिसावले मनोवैज्ञानिकरुपले पनि स्वस्थ बनाउनका लागि पनि ध्यान योगलाई बिस्तार गर्दै लैजानुपर्ने खाँचो रहेको बताउनुभयो ।
उहाँले ध्यान योगलाई बिस्तार गर्न सके संसारभरी योग प्रशिक्षक दिन सकिने बताउँदै त्यसका लागि विद्यालय स्तरबाट नै योग शिक्षा अगाडि बढाउने र विश्व विद्यालयसम्म बिस्तार गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
“विद्यालय स्तरबाट नै योग शिक्षा अगाडि बढाउने र विश्व विद्यालयसम्म लग्यो भने मात्रै संसारभरी योग प्रशिक्षक दिन सक्छौं र नेपाललाई नयाँ पहिचान दिन सक्छौं,” उहाँले भन्नुभयो ।
जनताको पक्षमा नयाँ योजनाको अठोट सहित प्रधानमन्त्रीको शपथ ग्रहण गरेको स्मरण गराउँदैं उहाँले योगको बारेमा, यसको आवश्यकताको बारेमा नेपाल सरकारको तर्फबाट जनस्तरमा पुर्याउनका लागि शिक्षामा योगलाई अझ संस्थागतरुपले व्यवस्थापन गर्ने कोशिष रहने विश्वास दिलाउनुभयो ।
हाम्रो पहिचान, संस्कृति, परम्परा जर्गेना गर्ने र स्वस्थ जीवनको चाहना राख्ने सबैले योग शिक्षा र साधनालाई त्यतिकै महत्व दिन जरुरी रहेको बताउनुभयो । उहाँले मानवहरु आफ्नो सभ्यता भन्दा बाहिर गएकै कारण विभिन्न खालका रोगव्याधीले मानव जातीमाथि आक्रमण गरेकोले त्यसलाई रोक्ने उपाय समेत योग साधना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजको भौतिकरुपले विकसित समाजमा खानपान रहनसहन, उठबस सबै चीजहरु मानिसहरुको प्रांगारिक सभ्यता भन्दा बाहिर गएकोले विभिन्न खालका रोगव्याधीले मानव जातीमाथि आक्रमण गरेको गरेकै छ । त्यसलाई रोक्ने एउटा सर्वोत्तम उपाय भित्र योग साधना, ध्यानको साधना, चिन्तन र अध्यात्मिकताको विकास महत्वपूर्ण पक्ष हो ।”
उहाँले अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रीत रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको भनाई राख्नुभयो । “पूर्वीय सभ्यताको आधारशीला योग र ध्यान, आध्यात्मिक चिन्तनलाई मानिन्छ । अहिले पुरै संसार नै योग र ध्यानतिर आकर्षित र केन्द्रीत छ । पूर्वीय सभ्यताको पनि नेपालका त्यसको धरोहर हो भन्न पाउँदा हामी सबै नेपालीलाई गर्वको महशुस हुन्छ,” उहाँले भन्नुभयो, “हाम्रो इतिहास, संस्कृति, परम्परामा योग र ध्यान सँगै नै अन्तर्निहीत रहेका छन् । हाम्रो सांस्कृतिक धरोहरहरू हे¥यो भने मठ, मन्दिर, गुम्बा सबैमा पनि योग आधारित भएर बनेका थिए । त्यसकारण नेपालमा योग, ध्यान र आध्यात्मिक चिन्तनको परम्परा धेरै पुरानो परम्परा हो । हाम्रो संस्कृति, सम्पदा र पहिचानको आधार हो । संयुक्त राष्ट्रसंघले योग दिवस मनाउने भनेपछि संसारभर नै जिज्ञासा र अभिरुची बढेको छ ।”