पौष १७ गतेदेखी गार्चाको तरकारी बजार बिहान २ बजे मात्र खुल्ने

भक्तपुर, पौष १३
मध्यपुर थिमि वडा नं. ७ नगदेश गार्चास्थित रात्रीकालिन तरकारी बजारलाई व्यवस्थित गरिने भएको छ । मध्यपुर थिमि नगरपालिका र वडा नं. ७ को पहलमा सो बजारलाई व्यवस्थित गर्न लागिएको हो ।
सो बजार व्यवस्थित गर्न आज बुधवार वडा कार्यालयमा सरोकारवालासहितको भेला आयोजना गरिएको थियो । सो भेलाले गार्चा तरकारी बजारलाई व्यवस्थित गर्न एक समिति समेत गठन गरिएको छ । भेलाले बासुदेब घजुको संयोजकत्वमा १७ सदस्यीय नगदेश तरकारी बजार ब्यबस्थापन समिति गठन गरिएको नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो ।


भेलाले आगामी पौष १७ गते अर्थात ईश्वी संवतको पहिलो दिन जनवरी १ तारिखदेखी गार्चाको रात्रीकालिन तरकारी बजार बिहान २ बजे मात्र खोल्ने निर्णय गरेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
हाल सो बजार राती ११ बजेदेखी शुरु हुने गरेको छ । राती ११ बजे नै तरकारी बजार शुरु हुने भएकाले किसानहरुको स्वास्थ्यमा प्रतिकुल असर देखा परेको जनगुनासो आएपछि उक्त तरकारी बजारलाई व्यवस्थित गर्ने प्रयास थालिएको श्रेष्ठले बताउनुभयो । रात्रीकालिन तरकारी बजारका कारण विभिन्न विकृति विसंगती समेत देखा परेको जनगुनासो रहेको छ ।
पौष १७ गतेदेखी बिहान २ बजे भन्दा अघि तरकारी व्यापार गर्न आएमा तरकारी जफत गरिने वडा नं. ७ का वडाअध्यक्ष कृष्णकुमार प्रजापतिले बताउनुभयो ।