टाईब्रेकरमा पुनः डोमिनिक चम्केपछि क्रोएसिया विश्वकपको सेमिफाइनल प्रवेश, ब्राजिल बाहिरियो

भक्तपुर, मंसिर २४
पुनः एकपटक क्रोएसियाली गोलकिपर डोमिनिक लिभाकोभिच टाईब्रेकरमा चम्किएपछि क्रोएसिया ५ पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै कतारमा जारी विश्वकप फुबटल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा गत संस्करणको उपविजेता क्रोएसिया टाइब्रेकरमा ब्राजिललाई ४–२ ले स्तब्ध पार्दै लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो । जारी विश्वकपमा क्रोएसियाको यो लगातार दोस्रो टाइब्रेकरमा जित समेत हो ।


पेनाल्टीमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नायक बने । उनले ब्राजिलका रोड्रिगोको प्रहार बचाउँदैं क्रोएसियालाई जित नजिक पुर्याएका थिए । ब्राजिलका लागि चौंथो पेनाल्टी प्रहार गरेका माकर््िववन्होसको प्रहार पोस्टमा लागेको फर्केपछि क्रोएसिया विजयी भएको हो ।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे ।


यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल १–१ को बराबरी गरेपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको थियो ।
अतिरिक्त समयको पहिलो हाफ सकिनै लाग्दा नेयमारले सुन्दर गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पाक्वेटाको पासमा १०५+१ औं मिनेटमा गोल गरेका थिए । यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो । पेलेले पनि ७७ गोल गरेका छन् ।


तर क्रोएसियाका लागि बेन्चबाट मैदान छिरेका ब्रुनो पेत्कोभिचले खेलको ११७ औं मिनेटमा गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । पेत्कोभिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । बायाँ विंगबाट मिस्लाभ ओर्सिचले दिएको पासमा पेक्तोभिचले गरेको प्रहार डिफेन्डरलाई लाग्दा गोलरक्षक एलिसनले बचाउने अवसर नै पाएनन् ।
पेनाल्टीमा चुकेसँगै पाँच पटकको च्याम्पियन ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । क्रोएसियाले भने सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।


यसैबीच खेलमा क्रोएसियाली गोलकिपर डोमिनिक लिभाकोभिच म्यान अफ दि म्याच घोषित भएका छन । यस्तै ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् । प्रतियोगिता शुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवारीमा नरहने बताएका थिए । ६१ वर्षीय प्रशिक्षक पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाएका थिए ।