करुणा बौद्ध केन्द्र, भकुण्डेचौरमा एकदिवसिय पवित्र महापरित्राण पाठ

सुनीता तुलाधर, मंसिर ११ गते आइतवार, काठमाण्डाै ।
काठमाण्डौको भकुण्डेचौरस्थित करुणा बौद्ध केन्द्र (करुणा विहार)मा मंसिर १० गते शनिवार एकदिवसिय पवित्र महापरित्राण पाठ सम्पन्न भएको छ । काठमाण्डौ त्रिपुरेश्वर निवासी रत्नदेवी तुलाधरलगायत उज्वल राज तुलाधर, निशा तुलाधर, सम्झना स्थापित, सुशीला तुलाधर, युनिशन राज तुलाधर एवं परिवारको आयोजनामा विश्वका सम्पूर्ण सत्वप्राणीहरुको कल्याणार्थ र दुःखबाट मुक्त होस भन्ने मंगलकामना सहित तथा आफ्ना दिवंगत नातेदारहरूकाे सुगित कामना सहित सो पवित्र महापरित्राण पाठ गरिएको हो ।


भिक्षु भद्दिय महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गरी शुभारम्भ गर्नुभएको उक्त महापरित्राण पाठको उद्देश्य, आनिशंस (फल) र महत्वबारेमा धर्मदेशना दिनुहुँदै उहाँले प्रकाश पार्नुभएको थियो ।
उहाँले धर्मदेशनाको क्रममा परित्राण भनेको चारैदिशाबाट आउने भय, बिघ्नबाधा हटाउने होे भन्नुहुँदै दाताहरुको तर्फबाट पनि ३ वटा अंग पुरा भएको हुनुपर्ने र भिक्षुहरुको तर्फबाट पनि ३ वटा अंग पुरा भएमा मात्रै यसको पुण्यफल सही रुपमा प्राप्त गर्न सकिने बताउनुभयो ।
त्यस्तै महापरित्राणका आयोजक उज्वल राज तुलाधरले विहारमा आउँदा भन्तेहरुको संगतबाट केही थाहा नपाएकाहरुले पनि धेरै कुराको ज्ञान लिन सक्ने बताउनुभयो । भगवान बुद्धको पवित्र वचन, धर्मदेशना महापरित्राण पाठ उपासकउपासिकाहरुको कानमा पर्दा कुनै न कुनै रुपमा उहाँहरुको हृदय परिवर्तन सकारात्मक तर्फ होस भनेर विहारमा नै कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले महापरित्राण पाठ शुरु गर्न दाताहरुलाई प्रार्थना पाठ वाचन गराउनुभएपछि शुरु भएको उक्त पाठ कार्यक्रममा शुरुको चरणमा महापरित्राण मण्डपभित्र महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविर, उपाध्यक्ष भिक्षु शीलभद्र महास्थविर लगायत भिक्षु महासंघद्वारा सामूहिक महापरित्राण पाठ गरिएको थियो । यसपछि दुई दुईजना भिक्षुहरुको ७ वटा समूहबाट युगल महापरित्राण पाठ गर्नुभएको थियो भने अन्तमा पुनः भिक्षुहरुले सामूहिक पाठ गर्नुभएको थियो ।
सो समूहमा पहिलो भिक्षु संघरक्षित महास्थविर र भिक्षु मेधंकर, दोश्रो भिक्षु शान्त सिद्धार्थ र भिक्षु शान्त शोभन, तेश्रो भिक्षु भद्दिय महास्थविर र भिक्षु सागर महास्थविर, चौथोमा भिक्षु धम्मशोभन महास्थविर र भिक्षु शीलभद्र महास्थविर, पाँचौंमा भिक्षु पञ्ञासार र भिक्षु गवेसको, छैठौंमा भिक्षु नारद र भिक्षु लक्खण तथा सातौंमा भिक्षु सुमंगल, भिक्षु उत्तमो, भिक्षु प्रसन्न, भिक्षु सुद्दिको भन्तेहरुले महापरित्राण पाठ गर्नुभएको थियो ।
भिक्षु महासंघबाट सामूहिक रुपमा आह्वान सूत्र पाठ गरी सामूहिक रुपमा शुरु भएको उक्त पवित्र महापरित्राण पाठमा दाताहरु रत्नदेवी तथा परिवार एवं उपस्थित उपासकउपासिकाहरुले भिक्षु महासंघलाई दान प्रदान पनि गरेका थिए ।


साथै दाता रत्नदेवी तुलाधर परिवारले भिक्षु महासंघको स्वास्थ्य कोषको लागि १ लाख रकम अनेभिमका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरलाई दान गर्नुभयो । उहाँहरुले करुणा बौद्ध केन्द्रमा निर्माण हुँदै गरेको अनागारिका भवनको लागि पनि १ लाख रकम उक्त केन्द्रका अ. चन्द्रशीला गुरुमांलाई दान गर्नुभयो । उक्त कार्यक्रममा सुबन राज तुलाधरले पनि आफ्नी आमा स्व. सुनकुमारी तुलाधरको सुगतिको कामना गर्दै केन्द्रलाई नगद दान गर्नुभयो ।
कार्यक्रमको अन्तमा भिक्षु कोण्डन्य महास्थविरले अष्ट परिष्कार भिक्षुहरुको लागि आधारभूत आवश्यक वस्तु रहेको र यो बिना भिक्षुहरुको जीवन सहज रुपमा अगाडि बढाउन गाह्रो हुने भएकोले यसको धेरै नै महत्व रहेको कुरा संक्षिप्त धर्मदेशनामा उल्लेख गर्नुभयो । साथै उहाँले यसको वाक्य वाचन गराउनुभएपछि १२ जना दाताहरुले अष्ट परिष्कार दान गर्नुभएको थियो भने उहाँले सम्पूर्ण उपासक उपासिकाहरुलाई पुण्यानुमोदन गराउनु भएपछि पवित्र महापरित्राण पाठ सु–सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न विहारबाट पाल्नु भएका भिक्षुहरु, अनागारिका गुरुमांहरु तथा श्रद्धालु उपासकउपासिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।


कार्यक्रम अघि भिक्षुहरु, अनागारिका गुरुमाहरु एवं उपासकउपासिकाहरुबाट सामूहिक बुद्धपूजाका साथ दाताहरुले पवित्र महापरित्राणको पुस्तक एवं बुद्धका प्रतिमाहरु आ–आफ्ना शीरमा राखी करुणा बौद्ध केन्द्र परिक्रमा गरेर महापरित्राण स्थलभित्र प्रवेश गरेका थिए ।
स्मरण रहोस, महापरित्राण पाठमा भगवान बुद्धले धर्मदेशना दिनुभएको जम्मा ३० वटा सुत्रहरु भिक्षुहरु धर्ममण्डपमा बसेर दिनभरी अटुट रुपमा पाठ गरिने गरिन्छ ।