भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पुरा

भक्तपुर, मंसिर २
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मंसिर ४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचनका लागि मतदान अधिकृतसहितको टोली मतदान स्थल खटिएको र आवश्यक तयारी शुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
निर्वाचनलाई सम्पन्न गर्न भक्तपुरमा २ सय २२ मतदान केन्द्रमा १ हजार ७ सय ७६ कर्मचारी खटाइएको प्रजिअ शर्माले जानकारी दिनुभयो । उहाँले कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाईएको बताउँदैं केन्द्रमा खटिएका कर्मचारीमा केही समस्या देखिए तत्काल अर्को कर्मचारी खटाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीसहित एक हजार २१७ सुरक्षाकर्मी परिचालन हुने उहाँले बताउनुभयो । भक्तपुरमा निर्वाचन सुरक्षाका लागि ८८६ म्यादी प्रहरी खटिने छ ।
उहाँले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र उत्साहपूर्वक सम्पन्न गर्न सबै सुरक्षा निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले भक्तपुरमा सुरक्षा चुनौती नरहेको जिकिर समेत गर्नुभयो ।
प्रजिअ शर्माले जिल्लामा १० वटा मतदान केन्द्र अपांगता मैत्री बनाइएको बताउनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ मा भक्तपुर नगरपालिकामा ५ र चाँगुनारायणमा एउटा गरी छ वटा केन्द्रलाई अपांग मैत्री बनाइएको छ भने क्षेत्र नम्बर २ को सूर्यविनायकमा ३ र मध्यपुर थिमिमा एउटा गरी ४ वटालाई अपांग मैत्री बनाइएको छ ।
जिल्लास्थित सञ्चारकर्मीहरुसँग निर्वाचनको तयारी सम्बन्धमा शुक्रवार छलफल गर्दै प्रजिअ शर्माले विगतमा जस्तो निर्वाचनलाई सफल बनाउन सञ्चारकर्मीहरुले पनि सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनको सूचनालाई सरल र सहज ढंगले प्राप्त गर्ने व्यवस्था गरिने बताउँदैं अपुष्ट समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।
उहाँले मतदातालाई निर्धक्क भएर उत्साहपूर्वक मतदानमा सामेल भई मताधिकार प्रयोग गर्न आह्वान समेत गर्नुभयो । “हामी शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयारी अवस्थामा छौं”, उहाँले भन्नुभयो, “भयरहीत वातावरणमा निर्धक्क भएर उत्साहपूर्वक मताधिकार प्रयोग गर्न आह्वान गर्दछौं ।”
प्रजिअ शर्माले जिल्लामा आचारसहिताको पूर्णपालना भएको भन्दै यसका लागि राजनीतिक दल र संचारकर्मीको साथ सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले निर्वाचनको स्थिर अवधिमा र मतदानका दिन समेत सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो । उहाँले मतदातालाई दबाब र प्रभाव पार्ने खालका गतिविधि कही कतै भए सुरक्षा निकायलाई सूचना दिन समेत आग्रह गर्नुभयो ।
उहाँले कानुनले बन्देज लगाएका निर्वाचन सँग सम्बन्धित क्रियाकलाप भए गरे कानुन बमोजिम कारवाही हुने चेतावनी समेत दिनुभयो ।
उहाँका अनुसार मतदानको दिन बिहान ४ बजे देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएका बाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । उहाँले एउटा कार्य र प्रयोजनका लागि अनुमति दिईएको सवारी अन्य प्रयोजन, मतदाता ओसारपसार लगायतका कार्यमा प्रयाृग भए कानुन बमोजिम कारवाही हुने बताउनुभयो ।
भक्तपुरमा प्रतिनिधि सभातर्फ २ र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । कुल १ लाख ९४ हजार ४ सय ३९ जना मतदाता रहेकामा महिलाको संख्या ९९ हजार ७ सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन् । मतदानका लागि जिल्लामा लागि २ सय २२ वटा मतदान केन्द्र तोकिएका छन् । कर्मचारीहरुको लागि भक्तपुरमा एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ जहाँ समानुपातिकतर्फको मात्रै मतदान हुने बताइएको छ ।