पाकिस्तानलाई हराउँदैं इंग्ल्यान्डले जित्यो १२ वर्षपछि टि–२० विश्वकप उपाधि

भक्तपुर, कार्तिक २८
इंग्ल्यान्डले १२ वर्षपछि आइसीसी टि–२० विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा आइतवार सम्पन्न फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै टि–२० विश्वकपको उपाधि दोस्रो पटक जितेको हो । इंग्ल्यान्डले यसअघि सन् २०१० मा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै पहिलो पटक आइसीसी टि–२० विश्वकपको उपाधि जितेको थियो ।
इंग्ल्यान्डलाई दोस्रो पटक उपाधि दिलाउने क्रममा बेन स्टोक्सले उत्कृष्ट प्रदर्शन गरे । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई उपाधि दिलाउन स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान गरे । उनी अविजित रहे ।
इंग्ल्यान्डका लागि कप्तान जोस बट्लर २६ रन बनाए भने ह्यारी ब्रुकले २० रनको योगदान दिए । मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए ।


५ ओभर ३ बलमा ४५ रनको स्थितीमा ३ विकेट गुमाएको इंग्ल्यान्डलाई चौथो विकेटका लागि ह्यारी ब्रुक र बेन स्टोक्सले ४२ बलमा ३९ रनको साझेदारी गरी जितको आधार बनाएका थिए ।
पाकिस्तानका लागि तीव्र गतिका बलर शाहिनले पहिलो ओभरको अन्तिम बलमा ओपनर एलेक्स हेल्सलाई एक रनमा बोल्ड गरे । अर्का तीव्र गतिका बलर हरिसले फिलिप साल्ट १० रनमा इफ्तिखार अहमदबाट मिड विकेटमा क्याच गराए । छैटौं ओभरको तेस्रो बलमा जस बटलर एज लागेर हरिसको बलमा मोहम्मद रिजवानबाट २६ रनमा क्याच आउट भए ।
स्पिनर शादब खानको बलमा ब्रुक शाहिनद्धारा लङअनमा समातिए । पाकिस्तानका हरिसले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । शाहिनले २.१ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । शादब खानले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।


यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । पाकिस्तान एक समय १५ ओभरमा १०६–४ को राम्रो अवस्थामा थियो । तर बाँकी ३० बलमा ३१ रन जोड्दै ४ विकेट गुमाएपछि पाकिस्तानको स्कोर कमजोर बनेको थियो ।
पाकिस्तानका शान मसुदले २८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । शादब खानले १४ बलमा २ चौकासहित २० रन जोडे । ओपनर तथा विकेटकिपर मोहम्मद रिजवानले १५, युवा ब्याटर मोहम्मद हरिस ८, कप्तान बाबर आजम ३२, इफ्तिखार अहमद शुन्य, मोहम्मद नवाज ५, मोहम्मद वासिम जुनियर ४ र शाहिन शाह अफ्रिदीले ५ रन बनाए ।
इंग्ल्यान्डका साम करनले ४ ओभरमा मात्रै १२ रन खर्चेर ३ विकेट लिए । स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
यसैबीच इंग्ल्यान्डका युवा स्टार साम करन आइसिसी टि–२० विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । इंग्ल्यान्डलाई च्याम्पियन बनाउन सानदार बलिङ गरेका साम करन प्लेयर अफ द फाइनल र सर्वोत्कृष्ट खेलाडी दुबै चुनिएका हुन् ।


इंग्ल्यान्डलाई च्याम्पियन बनाउन साम करनले ६ खेलमा २२.४ ओभरमा १ सय ४८ रन खर्चेर १३ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहे । उनीअघि श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा १५ विकेटका साथ शीर्ष स्थानमा रहे ।