माझखण्ड धातुचैत्य विहारमा दोश्रोपटक कथिन चीवर दान

सुनीता तुलाधर, कार्तिक २२ गते मंगलवार, ललितपुर ।

माझखण्ड धातुचैत्य विहार, माझखण्ड, ललितपुरमा नेपाल सम्वत ११४३ कछलाथ्व चतुर्दशी अर्थात कार्तिक २१ गते सोमवारका दिन दोश्रोपटक कथिन चीवर भिक्षु महासंघलाई दान गरिएको छ ।
भिक्षु बोधिज्ञान महास्थविरले सो विहारमा ३ महिना सफलतापूर्वक वर्षावास पूर्ण गर्नुभएको अवसरमा कथिनदाता अनागारिका धम्मवती गुरुमालगायत धर्मर्किति विहारका नन्दावती गुरुमा, करुणवती गुरुमा, ध्यानवती गुरुमा, सुनीता गुरुमा, वण्णवती गुरुमा, सुवण्णवती गुरुमा, क्षान्तीवती गुरुमाका साथै भियतनामका गुएन थि थांगयांग एवं भियतनामी परिवारले भिक्षु महासंघलाई कथिन चीवर दान गर्नुभएको थियो ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले उपस्थित श्रद्धालु उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुभएपछि औपचारिक रुपमा शुरु भएको उक्त उत्सवमा भिक्षु बोधिज्ञान महास्थविरले बुद्धपुजा गराउनुभएको थियो ।

भिक्षु कोण्डन्य महास्थविरले धर्मदेशना दिनुहुँदै भिक्षु बोधिज्ञान महास्थविर सो विहारमा दोश्रो पटक पनि वर्षावास बस्नुभएको कारण विहारको मुहार फेरिने क्रम निरन्तर जारी रहेको बताउनुभयो । मुहार मात्र नभइ शरीरका अंगप्रत्यंग समेत फेरिन्दै गइरहेको र हाल विहारमा अनागारिका गुरुमाहरुका लागि आराम (आवास) पनि बन्न शुरु भैसकेको कुरा उहाँले बताउनुभयो ।
कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि सकिमिला पूर्णिमासम्म एक महिनाभित्र मात्र गर्न सकिने भएकोले कालदानका रुपमा पनि लिइने यस कथिन दान एउटा विहारमा एक वर्षमा एकचोटि मात्र गर्न सकिने दान हो । यो दान जोसुकैले पनि गर्न सकिने भनेर भगवान बुद्धले प्रज्ञप्त गर्नुभएको कुरा उहाँले धर्मदेशनाका क्रममा उपदेश दिनुभयो । राजामहाराजादेखि लिएर भिक्षुभिक्षुणी, श्रामणेरश्रामणेरी वा उपासकउपासिका जोसुकै श्रद्धावान व्यक्तिले गर्न सकिने यो कथिन चीवर दान महादानका रुपमा रहेको बताउनुभयो ।

माझखण्ड विहारका संस्थापक अध्यक्ष चन्द्रबहादुर स्यांगतांगले आफू भाषण गर्न नजान्ने, काम मात्रै गर्न जान्ने भन्नुहुँदै अनगारिका गुरुमाहरुका लागि छुट्टै साढे दुइ करोड लागतमा बन्दै गरेको आवास आगामी वर्षमा पूर्ण हुनुपर्ने धारणा राख्नुभयो । त्यसको लागि उहाँले सबैको सहयोगको अपेक्षा राख्नुभयो ।
कार्यक्रमका अतिथि बागमति गाउँपालिकाका पूनः निर्वाचित अध्यक्ष वीरबहादुर लोप्सांगले विहारमा शौचालय निर्माणका लागि ५ लाख रुपैैया गाउँपालिकाका तर्फबाट शौचालय दानका रुपमा दिएको बताउनुभयो । उहाँले माझखण्डमा बाटोको स्तरोन्नतिका लागि गाउँपालिका एक्लैले मात्रै नसकिने भएकोले संघीय सरकार र प्रदेशले पनि यसको लागि सहयोग गर्न आव्हान गर्नुभयो ।

अनेभिमहासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले कथिन चीवरको वाक्य वाचन गराउनुभइसकेपछि कथिन दाता गुरुमाहरुले उहाँ मार्फत भिक्षु महासंघलाई कथिन चीवर दान गर्नुभयो । त्यस्तै उहाँले अष्ट परिष्कारको वाक्य वाचन गराउनुभइसकेपछि अष्ट परिष्कार दाताहरुले दान गर्नुभएको थियो । यसपछि भिक्षु निग्राेध महास्थविरले यस पुण्यकार्यकाे पुण्य दिवंगत भिक्षु तथा दाता परिवारका दिवंगत नातेदारहरूलाइ पनि प्राप्त हाेस भनेर पुण्यानुमाेदन गराउनु भएकाे थियाे ।

उक्त कार्यक्रममा कथिन दाता परिवारलाई विहारका तर्फबाट अनेभिमका अध्यक्ष भिक्षुले साधुवाद पत्र प्रदान गर्नुभएको थियो । त्यस्तै बुद्धधर्म प्रचारप्रसार एवं विहारका लागि सहयोग गर्नुहुने बागमती गापाका अध्यक्ष लोप्सांगका साथै वडाअध्यक्ष नवराज तिमिल्सिना, लगायत सञ्चारमाध्यमहरु इन्यूजअफ डटकम, नेपाल फाइभ, नेपाल मण्डल टिभि, बोधि टिभि, एनबि टिभिलगायतलाई मायाको चिनोका साथ सम्मान गरिएको थियो ।


सो कार्यक्रमको शुरुवातमा कथिनदाता गुरुमाहरुलाई खादा लगाई सम्मान गरी कथिन चीवरलाई माझखण्डको स्थानीय क्षेत्रमा भिक्षुगण, अनागारिका गुरुमाहरु एवं उपासकउपासिकाहरुले शोभायात्रा गरिएको थियो । भने कार्यक्रमको अन्त वर्षावास बस्नुभएका भिक्षु बोधिज्ञान महास्थविरलगायत केही भिक्षुहरुका साथै कथिनदाता अनागारिका गुरुमाहरु एवं उपस्थित श्रद्धालु उपासकउपासिकाहरुले विभिन्न विहारबाट आउनुभएका भिक्षुगण र गुरुमाहरुलाई दान प्रदान गरेका थिए ।
कथिन चीवर दानका लागि माझखण्ड धातुचैत्य विहारमा उपत्यकाका विभिन्न क्षेत्रबाट दर्जनौं सवारी साधनमा सयौं भिक्षु, अनागारिका, उपासकउपासिका र सञ्चारकर्मीको उपस्थितिले एउटा ठूलै उत्सव र मेला लागेको जस्तै देखिन्थ्यो ।
स्मरण रहोस, प्राकृतिक सुन्दरताले भरिपूर्ण मनोरम माझखण्ड देशको राजधानी जोडिएपनि अति विकट रहेको एक क्षेत्र छ । ललितपुर जिल्लाको दक्षिण भेगमा रहेको उक्त क्षेत्रमा माझखण्ड धातुचैत्य विहार, जसलाई माझखण्ड बुद्ध विहार पनि भनिन्छ, जुन विहार २० वर्षसम्मको अटुट मेहेनत र कठोर परिश्रमले बनेको थेरवाद विहार हो । जहाँ हाल अनागारिका गुरुमाहरुका लागि आश्रय स्थल, आरामको निर्माण कार्य तीब्र गतिमा भैरहेको छ ।