बागमती प्रदशेस्तरिय आयुर्वेद स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठीमा १३ बुँदे घोषणा पत्र जारी

भक्तपुर, कार्तिक २२
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा सम्पादन गरेका आयुर्वेद स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठीले १३ बुँदे घोषणा पत्र जारी गरेको छ । दुई दिन सञ्चालन भएर सोमवार साँझ सम्पन्न गोष्ठीले प्रदेशको आयुर्वेद स्वास्थ्य स्थिती सम्बन्धी विस्तृत विष्लेषण र छलफल पश्चात कार्यान्वयन गर्ने प्रतिवद्धतासहित १३ बुँदे घोषणा पत्र जारी गरेको हो ।
घोषणा पत्रमा चालु आर्थिक वर्षभित्र प्रदेशको आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य नीति बनाई कार्यान्वयन गर्ने, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्त्तरोन्नती गरी २५ शैयाको अस्पताल बनाईनुका साथै संगठन स्त्तरोन्नती, सुधार र जनशक्ति व्यवस्थापन गर्ने, गुणस्तरीय आयुर्वेद औषधी आपुर्तीका लागि आयुर्वेद औषधी उत्पादन केन्द्र रत्ननगरलाई समयानुकुल स्त्तोरोन्नती गर्ने, जनस्वास्थ्य सेवा नियमावली २०७७ ले तोकेको आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने, आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा स्थापनाको पहल गर्ने र जडिबुटीको पहिचान, संरक्षण अनुसन्धान तथा व्यस्थित उपभोगका लागि प्रादेशिक जडिबुटी बोर्ड स्थापना गर्ने उल्लेख छ ।
त्यसैगरी स्वास्थ्य पर्यटनमा टेवा दिन योग र पञ्चकर्मका सेवाहरुको उपयोगलाई बढावा दिने, खुल्ला व्यायामशाला एवम् योगकक्ष निर्माण गर्ने, आयुर्वेद स्वास्थ्य केन्द्रहरुको प्रचार प्रसार गरी एकिकृत सूचना केन्द्रको विकास गर्ने, स्थानीय तहसम्म आयुर्वेद स्वास्थ्य संस्थाहरुको बिस्तार गर्ने, आयुर्वेदका सेवाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वास्थ्यको लक्ष्य उन्मुख कार्यक्रम कार्यान्वयन गर्ने, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा ईलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली विकास गर्ने, आयुर्वेदमा निदान सेवा बिस्तार र प्रभावकारी बनाउन आवश्यक भएका सबै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा पोर्टेवल अल्ट्रासाउण्ड उपलब्ध गराउने घोषणा गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।