बागमती प्रदेशको आयुर्वेद स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा सम्पन्न

भक्तपुर, कार्तिक २१
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा सम्पादन गरेका आयुर्वेद स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी सोमवार भक्तपुरमा सम्पन्न भएको छ । दुई दिन चलेको सो गोष्ठी भक्तपुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
समिक्षा गोष्ठीमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो कार्यकालमा आयुर्वेद स्वास्थ्य तर्फ ३ गुणा बजेट बढाएको बताउनुभयो । उहाँले नेपालको परम्परागत र पुरानो आयुर्वेद उपचार पद्धतिको संरक्षण र विकास गर्न बागमती प्रदेश सरकारले बजेट वृद्धि गर्नेदेखि आयुर्वेद उपचार केन्द्रको भौतिक संरचना सुधार र नयाँ निर्माणमा उच्च प्राथमिकता दिएको बताउनुभयो ।


मन्त्री लामाले प्रदेशका जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा प्राविधिक जनशक्ति अभावको समस्या समाधान गर्न ७ सय कर्मचारी भर्ना गरी सेवा लाई प्रभावकारी पारिएको समेत जानकारी दिनुभयो ।
“आयुर्वेद चिकित्सा पद्धती प्राकृतिक र मौलिक उपचार पद्धती हो । अहिले पनि मानिसहरु आयुर्वेद चिकित्सामै फर्कने क्रम बढेको छ, उहाँले भन्नुभयो । उहाँले आयुर्वेदको विकासका लागि सुविधा सम्पन्न प्रदेश अस्पताल बनाउने र आफ्नै औषधी उद्योग खोल्ने कामलाई प्राथमिकता पूर्वक सरकारले अघि बढाएको जानकारी दिँदैं यसको बिकासमा थप योगदान गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सचिव बद्रीबहादुर खड्काले गोष्ठीले निकाल्ने निष्कर्षले आयुर्वेद विकासको नीति र योजना तथा कार्यक्रम निर्धारणमा योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।


गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लामा भएका आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय तहका आयुर्वेद संस्थाहरु, नरदेवी आयुर्वेद चिकित्सालय, नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, बागमती प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, आयुर्वेद औषधि उत्पादन केन्द्र, सहयोगी संस्थाहरु भाष्कर हर्वास्युटिकल्स विरगंज, पतञ्जली आयुर्वेद अस्पताल धुलिखेल, ग्रेस फर्मास्युटिकल्स बुटवल, हिमालय ड्रग कम्पनी काठमाण्डौंले आ–आफ्नो वार्षिक कार्यक्रम र प्रगती विवरण प्रस्तुतीकरण मार्फत जानकारी दिएका थिए ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुको मुल्यांकनको नतिजा समेत प्रकाशन गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिनुभयो । मुल्यांकनको नतिजा अनुसार प्रदेशले उत्कृष्टलाई सम्मान समेत गरेको थियो । उक्त मूल्यांकन प्रक्रिया सातै प्रदेश मध्ये बागमतीले पहिलो शुरुवात गरेको श्रेष्ठले बताउनुभयो ।
गोष्ठीको उद्देश्य परम्परागत आयुर्वेद स्वास्थ्य सेवामा देखिएका कमी कमजोरी, बजेट, कर्मचारी प्रशासन लगायतका बारेमा सुक्ष्मरुपमा जानकारी लिएर परम्परागत आयुर्वेद चिकित्सा सेवालाई स्थानीय स्तरसम्म सुलभ र सरल रुपमा विस्तार गर्ने रहेको श्रेष्ठले बताउनुभयो ।