अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, बुद्धनगरमा कथिन चीवर दान सम्पन्न

सुनीता तुलाधर, असोज २९, काठमाण्डौ ।

कार्तिक कृष्ण प्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म एक महिना थेरवाद बुद्धधर्ममा एकदमै महत्वको महिनाका रुपमा लिइन्छ । यो एक महिना थेरवाद परम्परा अनुसार कथिन महिना अर्थात कथिन चीवर दानको महिनाका रुपमा मनाइन्छ ।
यसै क्रममा काठमाण्डौ, बुद्धनगरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा पनि आज कथिन चीवर दान सम्पन्न भयो । म्यानमारका भिक्षु सयादो ऊ इन्दक महास्थविरलगायत भिक्षुहरु विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा अष्टरत्न एवं रत्नदेवी धाख्वा तथा परिवारले भिक्षु महासंघलाई पवित्र कथिन चीवर दान गर्नुभयो ।

उक्त भावना केन्द्रका सयादो ऊ इन्दक महास्थविरले बुद्ध पुजा एवं उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुभएपछि शुरुवात भएको कार्यक्रममा उहाँले धर्मदेशना पनि दिनुभयो । उहाँले ५ प्रकारका सम्मादिठ्ठी (सम्यक दृष्टि) का बारेमा व्याख्या गर्नुहुँदै धर्मदेशना दिनुभएको थियो । सयादोले राम्रो कर्मको राम्रो र नराम्रो कर्मको नराम्रो प्रतिफल आउँछ, त्यसैले हामीले सँधै शरीर, वचन र मन तीनैवटा द्वारबाट राम्रो कामहरु मात्रै सम्पादन गर्नुपर्छ तथा नराम्रो कामहरुबाट अलग हुनुपर्छ भनी धर्मदेशना दिनुभयो । उहाँले म्यानमार भाषामा दिनुभएको धर्मदेशनालाई भिक्षु ञाणवुधले नेपालीमा अनुवाद गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रका अध्यक्ष प्रत्येक रत्न ताम्राकारले किताबको ज्ञानले मात्र आफ्नो चित्त वशमा राख्न नसक्ने हुनाले केन्द्रमा आएर ध्यान सिकेर ध्यान अभ्यास गर्नुभई आफूलाई चिन्न अनुरोध गर्नुभयो ।

धर्मदेशना पश्चात नेपालका आठौं संघनायक भिक्षु बोधिसेन महास्थविरले कथिन दानको वाक्य वाचन गराउनु भएपछि कथिन दाताहरु अष्टरत्न धाख्वालगायत उहाँका छोरीहरु अनागारिका अग्गञाणी धम्मचरिय, अमिता, रमिता, सबिता, संगीता, श्रद्धा, सति र ललिता धाख्वाले संयुक्त रुपमा भिक्षु महासंघलाई कथिन चीवर दान गर्नुभएको थियो । यसपछि नेपालका संघनायकले अष्ट परिष्कारको वाक्य वाचन गराउनु भएपछि १७४ जना अष्ट परिष्कार दाताहरुले भिक्षु महासंघलाई अष्ट परिष्कार दान गर्नुभएको थियो । कार्यक्रमको अन्तमा श्रद्धालु उपासकउपासिकाहरुले भिक्षुगण र अनागारिका गुरुमाहरुलाई विभिन्न वस्तुहरुसहित दान प्रदान गरेका थिए ।

केन्द्रका सचिव ललिता धाख्वाले आजै केन्द्रको ३७ औं वार्षिक उत्सव पनि भएकोले उक्त केन्द्रले वर्षभरि गरेका विभिन्न गतिविधिहरुका बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । र कार्यक्रममा सम्पूर्ण सहभागी महानुभावहरुलाई केन्द्रका उपाध्यक्ष मदन रत्न मानन्धरले धन्यवाद ज्ञापन गर्नुभयो ।