गठबन्धन निर्वाचनपछि पनि निरन्तर चल्छ – सभापति थापा

भक्तपुर, असोज २९
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मध्यपुर थिमिको राधेराधेमा लोकतान्त्रिक बाम गठबन्धनको निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन कार्यक्रममा थापाले संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षा र संविधान कार्यान्वयन गर्ने उदेश्यले बनेको गठबन्धनलाई निर्वाचन पछि पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “म कांग्रेसको जिल्ला सभापति भएको नाताले मेरो दायित्व पनि हो । यो गठबन्धनलाई निर्वाचन पछि पनि निरन्तरता दिने छु ।” उहाँले संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षा र संविधान कार्यान्वयन गर्ने कार्यमा एमालेसँग पनि सहकार्य गर्ने बताउनुभयो ।
“हामी लोकतन्त्रको मर्म अनुसार स्वच्छ प्रतिष्पर्धामा छौं, चुनावपछि एमालेसँग पनि सहकार्य गरेर अघि बढ्छौं,” उहाँले भन्नुभयो । आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको भन्दै सभापति थापाले सबै उम्मेदवार प्रति सम्मान गर्दै जनताको मतद्वारा निर्वाचन जित्ने उद्घोष गर्नुभयो ।
“हामीले हाम्रो लागि मात्र लोकतन्त्र ल्याएका होइनौं, निर्वाचनमा उम्मेदवार हुने स्वतन्त्र उम्मेदवार प्रति पनि हाम्रो सम्मान छ । जनताको फैसलाले हाम्रो जित सुनिश्चित छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा भक्तपुर २ प्रदेश ‘क’ सूर्यविनायक क्षेत्रका उम्मेदवार विष्णुराज कार्की र प्रदेश ‘ख’ मध्यपुर थिमी क्षेत्रका उम्मेदवार डा. राजेन्द्रमान श्रेष्ठले एकतामै बल हुने बताउदै एकतावद्ध भएर प्रतिगामी शक्तिलाई पराजित गर्दै बाम लोकतान्त्रिक गठबन्धनले जित्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वतन्त्र उम्मेदवार कल्पदिप राइले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन गठबन्धनको मर्म र भावना अनुसार सबै एकतावद्ध भएर अघि बढ्नुपर्ने खाँचो औंल्याउनुभएको थियो ।