गोठाटार गोलीकाण्डका घाइते दर्जीको मृत्यु

भक्तपुर, असोज ४
काठमाण्डौंको गोठाटारमा गोली लागेर घाइते भएका लाल मोहम्मद दर्जीको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका व्यवसायी भएको खुलेको छ । व्यवसायी दर्जीमाथि चार राउण्ड गोली प्रहार भएको थियो । उनको टाउकोमा दुईवटा, कम्मर र कोखामा एक–एक गोली लागेको प्रहरीले जनाएको छ । घटनास्थलमा फालिएको अवस्थामा एउटा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको खुलेपनि घटनामा संलग्न पक्राउ परेको छैन । प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्दै गोली हानेर भाग्ने व्यक्तिको खोजी कार्य तीब्र बनाएको छ ।