जसले टिकट ल्याएपनि चुनाव जिताउन कतिवद्ध भएर लाग्नुपर्छ – सभापति थापा

भक्तपुर, भाद्र ३०
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जसले टिकट ल्याएपनि चुनाव जिताउन सबै नेता कार्यकर्ता कतिवद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर ४ नम्बर वडा समितिले बिहिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सभापति थापाले टिकटको दौडमा जति जना भएपनि टिकट ल्याईसकेपछि पार्टीको उम्मेदवार जिताउन सबै एकजुट र कतिवद्ध भएर लाग्नुपर्ने बताउनुभएको हो ।
उहाँले टिकट ल्याईसकेपछि आफ्नै सहकर्मीदेखी डराउनुपर्ने प्रवृत्ति कांग्रेसमा आगामी निर्वाचनदेखी अन्त्य हुनुपर्नेमा समेत जोड दिनुभयो । “टिकटको लागि धेरै आकांक्षी छन । टिकट आइसकेपछि पार्टीको उम्मेदवार जिताउन सबै एकजुट र कतिवद्ध भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो, “टिकट आइसकेपछि पार्टी कै साथीसँग तर्सिनु पर्ने, एउटा साथी डराउनुपर्ने, लुक्नु पर्ने र भाग्नुपर्ने स्थिती यो निर्वाचनबाट अन्त्य हुनुपर्छ ।”


सभापति थापाले लोकतान्त्रिक मूल्य मान्यता अनुरुप चलेको मुलुकमा आवधिक निर्वाचन आइरहने हुनाले सबै खाले निर्वाचनका लागि पार्टी सधै तयार भएर बस्नुपर्नेमा जोड दिनुभयो ।
“लोकतान्त्रिक मूल्य मान्यता र आदर्श बोकेर चलेको मुलुकमा आवधिक निर्वाचन आइरहन्छ । एउटा निर्वाचन मात्र होइन यसपछि अर्को निर्वाचन आउँछ भनेर सधै तयारी अवस्थामा रहनुपर्छ । सबै खाले निर्वाचनको लागि तयार भएर बसौं । पार्टी र संगठनलाई बलियो बनाउने उद्देश्यले सबै अगाडि बढौं,” उहाँले भन्नुभयो ।
उहाँले निर्वाचन र पार्टीको अधिवेशनले पार्टीलाई गतिशिल, चलायमान र सक्रिय बनाइरहने बताउनुभयो । “स्थानीय तहको निर्वाचन सकिएको ४ महिना भयो । मंसिर ४ मा अर्को निर्वाचन हुँदैछ । अर्को साँढे चार वर्षमा फेरी स्थानीय निर्वाचन आउँछ । यसबीचमा पार्टीको अधिवेशन पनि आउँछ । यसले पार्टीलाई निरन्तर गतिशिल र चलायमान बनाइरहन्छ,” उहाँले भन्नुभयो ।
विगतमा कांग्रेसको क्रियाशिल सदस्यता पाउनु भनेको अहिलेको जिल्ला सदस्य वा कुनै तहको उम्मेदवारको टिकट पाउनु जतिको महत्व हुने र क्रियाशिल सदस्यता पाउन पनि पार्टीका सक्रिय भएर संगठन बिस्तारसँगै त्यस्तै परिस्थितीमा जेलनेल समेत भोग्नुपर्ने अवस्था रहेको चर्चा गर्दै उहाँले अहिले क्रियाशिल सदस्यता पाउने वित्तिकै पद चाहिने विकृत्ति भित्रिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।


उहाँले सामाजिक सञ्जालमा पार्टी र पार्टीका नेताहरु विरुद्ध नकारात्मक टिप्पणी नगर्न चेतावनी समेत दिनुभयो । “पार्टीको कुरा चित्त नबुझे पार्टीको फोरममा आएर राखौं, खुल्ला छलफल बहश गरौं तर सामाजिक सञ्जालमा टिका टिप्पणी नगरौं । यस्तो क्रियाकलाप राम्रो होइन र यो क्षम्य पनि हुन सक्दैन । यस्तो चरित्रको आजै अन्त्य गरौं । होइन भने राम्रो हुनेछैन । म होसियार र सचेत रहन आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।
उहाँले गठबन्धन कांग्रेसको रहर नभएर बाध्यता भएकाले सोही अनुसार बुझी दिन आग्रह गर्नुभयो । उहाँले भक्तपुरका दुई वटै प्रतिनिधि सभा सदस्यको सिट कांग्रेसले पाउने खबर आएको बताउँदैं प्रदेशको पनि चार वटै सिटमा कांग्रेसको दावी रहेको बताउनुभयो । उहाँले कांग्रेस इमानको पार्टी भएकोले गठबन्धनमा पनि इमान्दार भएर उभिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
उहाँले कांग्रेसका उम्मेदवारले जिते मात्र संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सक्छ भन्ने विगतको के पी शर्मा ओली नेतृत्वको सरकारले पुष्टि गरेको दावी समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका पुर्वसभापति एवम् पुर्वसांसद लेखनाथ न्यौपाने, भक्तपुर प्रदेश सभा क्षेत्र नं. २ (क)का आकांक्षीहरु विष्णुराज कार्की, सुरेन्द्र केसी, कृष्णमुरारी न्यौपाने, रामगोपाल न्यौपानेलगायतका नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।