ललितपुर ८ ले जित्यो राष्ट्रव्यापी टेबलटेनिसको पुरुष टिम इभेन्टको उपाधि

काठमाण्डौं, भदौ २३
पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितामा पुरुष टिम इभेन्टको उपाधि ललितपुर महानगरपालिका वडा ८ ले जितेको छ । स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा ललितपुर महानगरपालिका ८ ले ललितपुर महानगरपालिकाकै वडा नं. १६ लाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । काठमाण्डौं महानगरपालिका वडा २५ र भक्तपुर नगरपालिका वडा ५ तेश्रो भए ।
प्रतियोगिताको महिला सिंगल्समा संखुवासभा नगरपालिका वडा ४ की वियंका राई र ललितपुर १२ की इभाना थापा मगर फाइनलमा प्रवेश गरे । वियंकाले गोदावरी १ की सतिश्मा थापालाई ११–३, ११–२ र ११–१ तथा इभानाले गोदावरी १ कै प्रणिका कुँवरलाई ११–८, ११–६ र ११–९ को सोझो सेटमा हराए ।
पुरुष सिंगल्समा लम्जुङ १९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गरे । विनेशले काठमाण्डौं २५ का अमरलाल मल्ललाई १०–१२, ११–४, १०–१२, ११–८, १०–१२, ११–४ र ११–९ तथा संयोगले नरहरिनाथ गाउँपालिका वडा २ का हिमाल विष्टलाई ११–९, ११–६, ११–५ र ११–८ को सेटमा पाखा लगाए ।