भक्तपुर २ मा बस्नेत सर्वसम्मत सिफारिस

भक्तपुर, भाद्र २०
नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले पोलिटव्यूरो सदस्य एवम् सांसद महेश बस्नेतलाई भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ को टिकटको लागि अर्का नेता निर्मल भट्टराईले पनि दावी गरेपनि एमालेको सिंगो जिल्ला कमिटिले बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष वचन देउजाले बताउनुभयो ।
त्यस्तै भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस भएको छ । अध्यक्ष देउजाले क्षेत्र नं. १ को प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सरस्वती वाटी, लक्ष्मण तिमिल्सिना र मिलन सुवालको नाम सिफारिस गरेको जानकारी दिनुभयो ।
यसैगरी समानुपातिकतर्फको आकांक्षी उम्मेदवारको अन्तिम टुंगो लगाउन छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले सोमवार साँझसम्म समानुपातिकतर्फको नाम टुंगो गरी जिल्लाले सिफारिस गर्ने जानकारी दिनुभयो ।