नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलन सम्पन्न

भक्तपुर, भाद्र १९
नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको प्रथम ऐतिहासिक नगर सम्मेलन आइतवार सम्पन्न भएको छ । दुई दिन चलेको सम्मेलनले विभिन्न प्रस्ताव पारित गरी सम्पन्न भएको हो ।
सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुलाई नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण शाखाका सदस्य सुरेन्द्र के सी र जनार्दन घिमिरेले प्रशिक्षण दिनुभएको थियो । सहभागीहरुलाई विभिन्न १० समूहमा विभाजन गरी विविध विषयमा सामूहिक छलफल गराई प्रस्तुतीकरण गराईएको थियो ।
सम्मेलनको समापन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले अनेकतामा एकता अहिलेको खाँचो रहेको बताउनुभयो । उहाँले कांग्रेस भित्रको विभिन्न समूहहरुबीचको एकतावद्ध सहकार्य नै निर्वाचन जित्ने प्रमुख हतियार भएको बताउँदैं कांग्रेस एकजुट भए कांग्रेसलाई कसैले हराउन नसक्ने जिकिर गर्नुभयो ।
उहाँले नेपालमा जब जब राजनीतिक संकट आइपर्छ, जनताले दुःख पाउँछ र देशमा आपत आइलाग्दा कांग्रेसले निकास दिएको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रको संस्थागत गरेर जनतालाई सुखी मनाउनुका साथै समृद्ध नेपाल निर्माणको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउनुभयो ।
उहाँले गठबन्धन कांग्रेसको रहर नभएर बाध्यता भएको बताउनुभयो । उहाँले २०७४ मा कम्युनिष्टहरुले गठबन्धन बनाएर चुनाव जाँदा कांग्रेस पछि परेको र करिव दुई तिहाई बहुमत ल्याएको वाम गठबन्धन लोकतन्त्रको संस्थागत गर्ने सवालमा चुकेकोले आफैं विघटन भई अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको बताउनुभयो । उहाँले गठबन्धनको प्रमुख उद्देश्य प्रतिगामी तत्वलाई परास्त गरी लोकतन्त्रलाई संस्थागत गर्नु रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कांग्रेसले जनता र कार्यकर्ताको घरदैलोमा पुगेर उनीहरुको भावना अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको आन्तरिक समस्यालाई फेसबुकलगायतका सामाजिक सञ्जालमा सार्वजनिक गरेर भन्दा पार्टी कार्यालयमा राख्दा समस्याको समाधान हुने बताउनुभयो । उहाँले मंसिर ४ गतेको निर्वाचनमा जित हासिल गर्न अहिले देखी नै दिनरात नभनी जनताको घरदैलोमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले व्यक्तिको पछाडी भन्दा पनि पार्टीको निर्वाचन चिन्ह रुख हेरेर अघि बढ्नुपर्ने बताउनुभयो । नगरसभापति निशान ढुंगेलले निर्वाचनको माहोल बनाएर जनताको घर घरमा पुग्न सम्मेलनमा सहभागी नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।