मध्यपुर थिमिमा एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा

भक्तपुर, भाद्र १३
मध्यपुर थिमि नगरपालिकाले सोमवार एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको सय दिन पुगेको अवसरमा ९ वटा वडामध्ये हेल्थ पोष्ट नभएका वडा नं. २, ३ र ५ मा ती क्लिनिक सञ्चालनमा ल्याएको हो ।
सञ्चालित शहरी क्लिनिकहरु वडा नं. २ को सानो थिमिस्थित नाट्श्वरी बहुउद्देश्य भवन, वडा नं. ३ को वडा कार्यालय भवन कौशलटार र वडा नं. ५ को भुँलाखेलमा रहेका छन ।


क्लिनिकबाट गर्भवती जाँच, सामान्य बिरामी जाँच, घाउ खटिराको चिरफार र ड्रेसिङ, परिवार नियोजनका अस्थायी साधनहरुको वितरण, नेपाल सरकार तोकिएका औषधीहरुको निःशुल्क वितरण जस्ता सेवा प्रवाह हुनेछ । क्लिनिकमा जनस्वास्थ्य निरिक्षक अघिकृत छैंटो तहको नेतृत्वमा हाललाई सि.अहेव र सि. अनमी गरी तीन जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नगरभित्रका हेल्थ पोष्टमा भएका स्वास्थ्यकर्मीबाट शहरी क्लिनिकको जनशक्ति व्यवस्थापन गरिएको हो ।
छिट्टै मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका दक्ष चिकित्सक, एमबिबिएस डाक्टर र नर्सहरुको व्यवस्थापन गरी क्लिनिकको सेवा बिस्तार गरिने नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पद बहाली भएको एक सय दिनको उपलब्धीका रुपमा जनताको आधारभुत अधिकार र मौलिक अधिकारभित्र रहेको स्वास्थ्य अधिकारलाई प्रत्याभुती दिने उद्देश्यले नगरपालिकाले हेल्थ पोष्ट नभएका वडाहरुमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो । “जनताको स्वास्थ्यप्रति नगरपालिका सदैव सचेत छ । जनतालाई घरदैलोमा नै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने चुनावी वाचा पुरा गर्ने उद्देश्यले पनि क्लिनिक सञ्चालनमा ल्याएका हौं,” उहाँले भन्नुभयो ।


नगरप्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरेको वाचा र प्रतिवद्धता पुरा गर्ने एक खुडकिलोको रुपमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले कार्यकालको सय दिन नपुग्दै हालै नगरका ५ र ७ वडाका ५१९ परिवारलाई स्वबासी जग्गाको धनीपुर्जा वितरण गरेको, चार वटा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको र त्यसमा आवश्यक नीति र कार्यविधि निर्माण भइरहेको, आगामी पुसमा नगरसभा बैठक आयोजना गरी थप नीति, नियम र ऐनहरु निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।


मध्यपुर थिमि वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले क्लिनिक सञ्चालनमा आएसँगै वडाका सर्वसाधारणको स्वास्थ्यमा पहुँच बृद्धि हुने बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका र न्यून आय भएका स्थानीयलाई क्लिनिकबाट प्रवाह हुने निःशुल्क सेवाले लाभ प्रदान गर्ने तथा आर्थिक अभावकै कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने दावी गर्नुभयो ।