नेपाल बक्सिङ संघले अन्तराष्ट्रिय बक्सिङ डे मनायो

भक्तपुर, भाद्र ११
नेपाल बक्सिङ संघले बक्सिङ खेलको विकास र बिस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै शनिवार अन्तराष्ट्रिय बक्सिङ डे मनाएको छ ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्तमान कार्यसमितिले राम्रो काम गर्न सफल भएको, सन्तोषजनक नतिजा ल्याउन सफल भएको चर्चा गर्दै स्वयम् अध्यक्षले आफ्नो व्यक्तिगत खर्च गरि बक्सिङ खेल विकास र विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएकोमा धन्यवाद दिए ।
उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०१७ देखि आईबालाई लगाएको प्रतिबन्ध यथावत रहेको अवस्थामा आउदो पेरिस ओलम्पिक सन् २०२४ मा बक्सिङ खेलको सहभागीता सुनिश्चितताको लागि आईबाले मेहनत गर्नुपर्ने बताउनुभयो ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नेपाललाई सबै भन्दा धेरै अन्तराष्ट्रिय पदक दिलाउने खेल मध्येको एक बक्सिङ भएको बताउँदैं सरकारले बक्सिङ खेललाई प्रोत्साहन हुने कार्यक्रम ल्याए एसियन गेम्समा पदक ल्याउन धेरै समय कुर्न नपर्ने दावी गरे ।
सन् १९७४ अगस्त महिनामा क्युवाको हवानामा आयोजित प्रथम आईवा वल्र्ड बक्सिङ च्याम्पियनसिपको अवसरलाई स्मरणस्वरुप संसारभर हरेक वर्ष जुलाई २२ तरिखलाई अन्तराष्ट्रिय बक्सिङ डे मनाउदै आएको थियो । तर सन् २०२१ देखि २२ जुलाईको सट्टा अगस्ट २७ लाई नियमित रुपमा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाउने निर्णय गरेको हो । आईबाले वर्ष २०२२ लाई ‘अफ्रिकाको वर्ष’को रूपमा घोषणा गर्दै डेमोक्रेटिक रिपब्लिक अफ कंगोको राजधानी किन्शासा शहरमा यो कार्यक्रम मनाउने निर्णय गरेको छ ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु राम बहादुर गिरी, श्याम काजी अवाले, शोभार जंग के.सी., पुष्करराज पन्त, आईबा वान स्टार रेफ्री÷जज एवम् आठौ सागका स्वर्ण पदक विजेता राम चन्द्र थापामगर, आईबा थ्री स्टार कोच दीपक महर्जन, पुर्व प्रमुख प्रशिक्षक ओम मास्के, आईबा टु स्टार कोच रमेश दास श्रेष्ठ, आईबा स्टार रेफ्री तारा राम श्रेष्ठ, आईबा स्टार रेफ्री एवम.् बागमती प्रदेश खेलकुद विकास परिषद बोर्ड सदस्य धनकुमार मैनाली, आईबा स्टार रेफ्री दिनेश बासुकला, राष्ट्रिय कोचहरु, प्रेम पौजु, रत्न अवाले, रोहित अवाले लगायत उल्लेख्य रुपमा बक्सिङ खेलाडीहरुको उपस्थिति रहेको थियो ।