आदिलको उत्कृष्ट बलिङमा नेपाल र अमेरिकाले नाटकियरुपमा बराबरी खेले

भक्तपुर, जेठ २९
आइसीसी विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नाटकियरुपमा नेपाल अमेरिकाबीचको खेल बराबरीमा सकिएको हो ।
अमेरिकाको टेक्ससको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा आइतवार बिहान सकिएको खेलमा जितको लागि नेपालले दिएको २७५ रनको लक्ष्य भेटाउने क्रममा घरेलु टोली २७४ रनमा समेटिएपछि खेल बराबरी भएको हो । अमेरिकालाई जितको लागि अन्तिम ओभरको ६ बलमा ६ रन आवश्यक भएकोमा आदिलले ५ रन दिएर २ विकेट लिएपछि जितको नजिक पुगेको अमेरिका अंक बाँड्न बाध्य बनेको हो ।


रोमान्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो । पाँचौं बलमा आदिलले आरोन जोन्सलाई पेभेलिएन फर्काए भने अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल बराबर भएको हो ।
अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए ।
नेपालका आदिलले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला व्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । नेपालका रोहित पौडेलले ७२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले ।

रोहितसँगै आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकी इनिङ खेले । रोहितको ओडिआई करिअरको पाँचौं, देव र आसिफको समान दोस्रो अर्धशतक हो ।
विकेटकिपर तथा ओपनर आसिफ शेख ७० बलमा ६ चौकासहित ६१ रनमा क्याच आउट भए । आसिफले ५८ बलमा अर्धशतक पूरा गरेका थिए । चोटबाट फर्किएका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले ११.५ ओभरमा ५६ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । ग्रोइन चोटबाट फर्किएका ओपनर कुशल ३६ बल खेल्दै १९ रनमा बोल्ड भए । निसर्ग पटेलको बलमा कुशल स्वीप सट खेल्ने धुनमा मिस हुँदा बोल्ड हुन पुगेका थिए ।
दोस्रो विकेटका लागि देव खनाल र आसिफले ६२ रनको साझेदारी गरेका थिए । देव खनाल ६९ बलमा ३ चौकासहित ५४ रनमा क्याच भए । देवको ओडिआई करिअरको दोस्रो अर्धशतक हो । देवले ६४ बलमा अर्धशतक प्रहार गरे ।
तेस्रो विकेटका लागि देव र रोहितले ६० रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि रोहित र आदिल अन्सारीले ६५ रनको आक्रामक साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका थिए ।


आदिल २४ बलमा ३ चौका र २ छक्कासहित ३६ रनमा आउट भए । आरिफ शेख ८ र दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । सन्दीप लामिछाने १० रनमा आउट भए । एक समय ४३ ओभरमा २३५–३ को बलियो अवस्थामा रहँदै ३ सय रनको योगफलको सम्भावना देखाएपनि ३९ रन जोड्न ७ विकेट गुमाएपछि नेपाल विशाल योगफलबाट चुकेको थियो ।
अमेरिकाका रस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए । सौरभ नेत्रवालकारले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । अली खानले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । निसर्ग पटेल र यासिर मोहम्मदको नाममा १÷१ विकेट रह्यो ।