कुवेतसँगको खेलमा नेपालको गोलको खोजी

भक्तपुर, जेठ २८
कठिन समूहमा रहेको नेपालले एएफसी एसियन कप २०२३ तेस्रो चरणको छनोटअन्तर्गत दोस्रो खेलमा आज राती घरेलु टोली कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । खेल कुवेतको जाबिर अल अहमद मैदानमा नेपाली समयअअनुसार राति १० बजेपछि सुरु हुनेछ ।
कुवेतसँगको खेलमा नेपाल पहिलो जितसँगै ३८ वर्षमा पहिलो गोलको खोजीमा समेत हुनेछ । सन् १९८२ देखी अहिलेसम्म नेपालले कुवेतसँग ८ खेल भएको छ । जसमा नेपालले एक गोल गरेको छ भने ३० गोल व्यहोरेको छ ।
नेपालले कुवेतसँग पहिलो खेल सन् १९८२ को एसियन गेम्समा भएको थियो । जुन खेलमा भर्खर विश्वकप खेलेर आएको कुवेत नेपालसँग ३–१ गोलले विजयी भएको थियो । सो खेलमा नेपालले उत्कृष्ट खेल पस्केको थियो । नेपालका लागि वाई बी घलले एक गोल गरेको थियो ।
त्यस यता सम्पन्न ७ खेलमा नेपालले कुवेत विरुद्ध गोल गर्न सकेको छैन । कुवेतविरुद्ध नेपालको राम्रो नतिजा सन् २०१९ मा भएको मैत्रिपूर्ण खेल हो, जसमा गोलरहित बराबरी भएको थियो ।
नेपाल एएफसी एसियन कप २०२३ तेस्रो चरणको छनोटको समूह ए मा रहेको छ । यस समूहमा नेपालसहित कुवेत, जोर्डन र इण्डोनेसिया रहेको छ । समूहको पहिलो खेलमा नेपाल जोर्डनसँग ०–२ ले पराजित भएको थियो भने कुवेत इण्डोनेसियासँग स्तव्ध भएको थियो ।
नेपाल र कुवेतबीचको हेड टु हेड नतिजा
सन् १९८२ नोभेम्बर २०, कुवेत ३ – नेपाल १
सन् १९८६ सेप्टेम्बर २२, कुवेत ५ – नेपाल ०
सन् १९९४ अक्टोबर ५, कुवेत ८ – नेपाल ०
सन् २००० फेब्रुअरी १८, कुवेत ५ – नेपाल ०
सन् २०१९ मार्च २१, कुवेत ० – नेपाल ०
सन् २०१९ मार्च २५, कुवेत १ – नेपाल ०
सन् २०१९ सेप्टेम्बर ५, कुवेत ७ – नेपाल ०
सन् २०१९ नोभेम्बर १९, कुवेत १ – नेपाल ०