बागमती प्रदेशमा मानव अधिकार आयोगको ७ टोली निर्वाचन अनुगमनमा

भक्तपुर, बैशाख २८
राष्ट्रिय मानव अधिकार बागमती प्रदेश कार्यालयले बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्थानीय तह निर्वाचनको अनुगमनका लागि ७ वटा टोली खटाएको छ ।
अनुगमन टोलीले स्थानीय तह निर्वाचनमा मानव अधिकारको दृष्टिकोणबाट उमेद्वारले स्वतन्त्र रुपमा प्रचार प्रशार तथा आवातजावतको अधिकार, मतदान केन्द्रसम्म मतदाताको पहुँचको अवस्था, मतदाता शिक्षा, निर्वाचन आचार संहिताको पालना, अपाङ्गता, अशक्त, जेष्ठनागरिक, गर्भवती महिला लगायतका व्यक्तिहरुका लागि मतदानको समयमा प्राथमिकतामा राखिए नराखिएको विषयमा अनुगमन गर्ने छन् ।
त्यस्तै आयोगको टोलीहरुले निर्वाचन पर्यवेच्छक तथा निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी तथा सुरक्षाकर्मीहरुको मानव अधिकार अवस्थाको समेत अनुगमन गर्नेछ । समग्रमा निर्वाचन स्वतन्त्र, निश्पक्ष भयरहित अवस्थामा सम्पन्न भए नभएको विषयमा अनुगमन गर्ने मानव अधिकार अधिकृत लोकनाथ घिमिरेले बताउनुभयो । आयोगको अनुगमन टोलीले मतदान पश्चात मतगणना तथा विजय जुलुस र्याली तथा सभाहरुको समेत अनुगमन गर्नेछ ।
टोलीमा सिन्धुली र काभ्रेपलाञ्चोकमा मानव अधिकार अधिकृत किरण कुमार बराम र मणि थापा, धादिङ्ग र काठमाण्डौ जिल्लाका लागि मानव अधिकार अधिकृत रुना मर्हजन, सेली गौतम र गायत्री खत्री, भक्तपुर र सिन्धुपाल्चोक जिल्लाका लागि मानव अधिकार अधिकृत अम्बिका घिमिरे, रेवा रेग्मी र रारा कर्माचार्य, ललितपुर र काभ्रेपलाञ्चोकका केही पालिकामा सहसचिव यज्ञप्रसाद अधिकारी, मानव अधिकार अधिकृत पबित्रा भण्डारी र सम्झना धिमाल, रसुवा र नुवाकोट जिल्लामा मानव अधिकार अधिकृत लक्ष्मी पौडेल र विजया उप्रेती, दोलखा र रामेछाप जिल्लाका लागि उपसचिव सरिता ज्ञवाली, अस्मिा पोखरेल र निलम परियार, चितवन र मकवानपुर जिल्लाको अनुगमनका लागि मानव अधिकार अधिकृत जायश्वर चापागाई र लोकनाथ घिमिरे छन ।