भक्तपुरमा निर्वाचनका लागि १ हजार १ सय कर्मचारी परिचालन

लक्ष्मी गारु, भक्तपुर, बैशाख २८
भक्तपुरमा स्थानीय निर्वाचनका लागि निर्वाचन अधिकृतसहितको टोली निर्वाचन सामग्री लिएर मतदान स्थलमा पुगेर निर्वाचनको लागि आवश्यक तयारी शुरु गरेको छ । मतदान स्थल पुगेका मतदान अधिकृतहरुले मंगलवार सम्बन्धीत मतदान स्थलमा राजनीतिक दलहरुसँग निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक छलफल गर्दै निर्वाचनको आवश्यक तयारी शुरु गरेको हो ।
कर्मचारीहरुले आज (बुधवार) र भोली मतदान केन्द्र निर्माण गर्नुका साथै बिहान १० बजेदेखी साँझ ५ बजेसम्म मतदाता परिचयपत्र समेत वितरण गरिनेछ ।
भक्तपुरमा निर्वाचनका लागि एक हजार ९४ जना कर्मचारी खटिएका छन । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार पाँच सय भन्दा कम मतदाता रहेको मतदान केन्द्रमा ४ र ५ सय भन्दा बढी मतदाता रहेको केन्द्रमा ५ जना कर्मचारी व्यवस्था गरिएको छ । एक हजार मतदाता बराबर एक मतादान केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी निर्वाचनमा शान्ति कायम गर्न भक्तपुरका एक हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ शर्माले जानकारी दिनुभयो । जिल्लाका चार नगरपालिकाको सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी ५ सय १५, म्यादी प्रहरी ७ सय ७०, सशस्त्र प्रहरी २ सय ३ जना गरी १ हजार ४९३ सुरक्षाकर्मी परिचानलन गरेको छ । सुरक्षाका लागि आवश्यकता अनुसार नेपाली सेनाको सुरक्षा टोली समेत थप परिचान गर्ने प्रजिअ शर्माले जानकरी दिनुभयो ।
जिल्लामा शान्ति सुरक्षा, अपराध न्युनीकरण गरी स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न, निर्वाचनमा आउनसक्ने चुनौतीको समाधान लागि आवश्यक पुर्वतयारीको सुरक्षा रणनीति तयार गरिसकेको प्रजिअ शर्माले जानकारी दिनुभयो । मतदानको दिन नाकाको सुरक्षाका लागि उपत्यकाका प्रजिअसँग आवश्यक छलफल गरी तयारी गरिएको उहाँले बताउनुभयो ।
निर्वाचनको दिन मौसमविदले वर्षा हुने पुर्वामान गरेकोले मतदान प्रभावित हुन नदिन आवश्यक तयारी गरिएको प्रजिअ शर्माले बताउनुभयो । मतदानको दिन पानी परेमा विषेश सुरक्षाको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । “पानी नचुहिने टेण्ट, त्रिपालको व्यवस्था रामोसँग गर्न निर्देशन जारी गरिसकेको छौ । निर्वाचनको दिन निर्वाचन अधिकृहरु र त्यहा खटाइने कर्मचारीहरुको लागि वर्षादी, छाताको व्यवस्था गर्न भनेका छौं,” उहाँले भन्नुभयो ।
निर्वाचनलाई वर्षाबाट प्रभावित हुन नदिन प्रत्येक मतदान केन्द्रहरुमा दुई वटा टेण्ट अनिवार्य गरिएको भक्तपुरका मूख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले जानकारी दिनुभयो । मतदान स्थलमा हुने विभिन्न गतिवधिलाई शान्ति रुपमा सम्पन्न गर्न कर्मचारीहरुलाई आवश्यक प्रशिक्षण प्रदान गरिएको उहाँले बताउनुभयो ।
मतदानको दिन अशक्त र अपाङ्ग भएकाहरुको लागि मुख्य निर्वाचन कार्यालयले एकाघर परिवारमा एक जना सहयोगी रहने गरी घरदेखि मतदान केन्द्र र मतदान केन्द्रबाट घरसम्म पु¥याउने व्यवस्था मिलाइएको प्रजिअ शर्माले बताउनुभयो । त्यसका लागि मुख्य निर्वाचन कार्यालयमा सम्पर्क राख्न उहाँले आग्रह गर्नुभयो ।
निर्वाचनका लागि जिल्लामा अनावश्यक सावारी पास वितरण नगर्ने र मादक पदार्थ सेवन र विक्रि वितरणमा समेत निषेध गरी कडाइका साथ लागु गर्ने र मौन अवधिमा हुनसक्ने निर्वाचन आचार संहिता हनन र झडपको अवस्था आउन नदिन विशेष संयन्त्र परिचालन गरिने उहाँले जानकारी दिनुभयो । निर्वाचनको दिन एम्बुलेन्स, दमकल, शवबाहन भने निर्वाध रुपमा चलाउन पाईने व्यवस्था गरिएको छ, तर परिचयपत्र अनिर्वाच गरिएको छ ।
भक्तपुरमा कुल ७७ मतदान स्थल र २१९ वटा मतदान केन्द्र छन । जयमध्ये भक्तपुर नगरपालिकामा १६ मतदान स्थल र ६२ मतदान केन्द्र, चाँगुनारायण नगरपालिकामा २१ मतदान स्थल र ५३ मतदान केन्द्र, सूर्यविनायक नगरपालिकामा २३ मतदान स्थल र ५८ मतदान केन्द्र, मध्यपुर थिमि नगरपालिकामा १७ मतदान स्थल र ४६ मतदान केन्द्र निर्धारण गरेको छ ।
जिल्लामा भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरपालिकामा ४३ हजार १०५, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुर थिमि नगरपालिकामा ४१ हजार ८४२ जना मतदाता रहेका छन ।
निर्वाचन आचार संहिता उलंघनका २२ घटनामा कारवाही
भक्तपुरमा स्थानीय निर्वाचनको आचार संहिता विपरितका २२ घटनामा कारवाही गरिएको छ । सार्वजनिक स्थानमा झण्डा राख्ने, भित्ते लेखन जस्ता आचार संहिता विपरितका घटनामा तत्काल सुरक्षाकर्मी परिचालन गरी झण्डा हटाउने र भित्ते लेखन पुछ्ने कार्य गरेको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
उहाँले जिल्लामा राहतका नाममा सर्वसाधरणलाई विभिन्न सामग्री वितरणको प्रयास समेत भएको र त्यस्तो खबर प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरेर तत्काल रोक लगाएको बताउनुभयो ।