टौमढीमा आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास

भक्तपुर, चैत्र ११
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा निकाय तथा सरोकारवालाहरुको संयुक्त सहकार्यमा शुक्रबार आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ । टौमढीमा आयोजित अभ्यासमा आगलागी भए कसरी छिटो भन्दा छिटो नियन्त्रणमा लिने र आगलागीमा फसेका तथा घाईतेहरुको कसरी सफल उद्धार गर्ने भन्ने बारे अभ्यास गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, आर.एन. ए १६, रेडक्रसलगायतको टोलीले आगालागी नियन्त्रणबारे कृत्रिम घटना अभ्यास प्रस्तुत गरेका थिए ।


सो अवसरमा सांसद प्रेम सुवालले जुनसुकै समयमा आउनसक्ने विपदबाट जोगिन कृत्रिम घटना अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विपद्का अभ्यास कार्यक्रमहरु स्थानीय तहसँग समन्वय गरी टोल–टोलमा आयोजना गर्नुपर्नेमा जोड दिँदैं सांसद सुवालले विपद्बाट हुनसक्ने सम्भावित मानवीय क्षति तथा धनसम्पत्ति हानी नोक्सानी कम गर्न विपद्को पूर्वतयारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद् न्युनीकरणसम्बन्धी अभ्यास कार्यक्रम निकै उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्दै नगरपालिकाले पनि नेपाली सेनासँग समन्वय गरी विपद् न्युनीकरणसम्बन्धी तालिमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
गृह मन्त्रालयका उपसचिव उमाकान्त आचार्यले नेपालमा वर्षेनी विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनाहरु नियमित घट्ने हुँदा ठूलो मात्रामा जनधनको क्षति हुन नदिन यस्ता कृत्रिम घटना अभ्यास कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा विपद् तथा प्राकृतिक प्रकोपहरुको प्रतिकार्य तथा पूर्वतयारी निम्ति संयुक्त विपद् प्रतिकार्य तथा आगलागी नियन्त्रण अभ्यास सफलतापूर्वक सञ्चालन गरेकोमा प्रशंसापत्र पनि वितरण गरिएको थियो ।