कम्युनिष्टको दोहोरो चरित्रको पर्दाफास गर्न कांग्रेस कार्यकर्ताहरुलाई सभापति थापाको निर्देशन

भक्तपुर, फागुन १२
नेपाली कांग्रेसका भक्तपुरका सभापति दुर्लभ थापाले कम्युनिष्टको दोहोरो चरित्रको पर्दाफास गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ को टोल समिति गठन कार्यक्रममा सभापति थापाले घरघर जाऔ कांग्रेस जिताऔ अभियानलाई साकार बनाउन कम्युनिष्टको दोहोरो चरित्रको पर्दाफास गर्दै अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो ।
उहाँले टोल समिति कांग्रेसको मेरुदण्ड भएको बताउँदैं कांग्रेसको संगठन सशक्त बनाउन विधानअनुसार टोल टोलमा समिति गठन अभियान थालिएको जानकारी दिनुभयो । उहाँले टोल समितिका पदाधिकारीहरुलाई संगठन गतिशिल बनाउन र आम नागरिकका दैनिकीसँग नजिक भएर सहकार्य गर्न निर्देशन समेत दिनुभयो । उहाँले भक्तपुरका स्थानीय तहमा कम्युनिष्टको बाहुल्यता भएका कारणले अहिले विकासमा अवरोध आएको आरोप समेत लगाउनुभयो ।
कार्यक्रममा क्षेत्रिय सभापति जीवन खत्रीले फागुन मसान्तसम्म नगरका सबै वडामा टोल समिति गठन सम्पन्न गर्ने जानकारी दिनुभयो । उहाँले टोल टोलबाट नै हाल विद्यमान भ्रष्टाचार र अनैतिक क्रियाकलापको पर्दाफास गर्दै आगामी निर्वाचनमा विद्यमान भ्रष्टाचारीहरुलाई तह लगाउन सबै एक जुट हुनु पर्ने बताउनुभयो । उहाँले टोल कमिटि गठन सँगै एक घर एक काँग्रेस अभियानलाई मुर्त रुप दिन सबैलाई आह्वान समेत गर्नुभयो ।
यस्तै नगर सभापति शिबहरि केसीले स्थानिय सरकारमा एमालेको कारण नगरपालिकाको विकासमा अबरोध भएको र नगरपालिकामा बेतिथि, भ्रष्टाचार मौलाएको आरोप लगाउनुभयो । उहाँले हाल भएको बेथितीलाई सच्चाउने समय आएको बताउँदै सबैले विगतलाई सम्झेर अघिल्लो निर्वाचनमा भएको भुल सुधार गर्न आग्रह समेत गनुभयो ।
कार्यक्रममा जिल्ला सहसचिव यादवप्रसाद अधिकारी, जिल्ला सदस्य अच्युत अधिकारी, उमेश खड्का, वडा नम्वर ७ का वडाअध्यक्ष ज्ञानबहादुर केसी, पुर्ब गाबिस अध्यक्ष बिल बहादुर श्रेष्ठ, पार्टीका क्षेत्र, प्रदेश, नगर र वडाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
भेलाले चाँगुनारायण नगरपालिका वडा नम्वर ७ साविक बागेश्वरी गाविसको ७,८,९ वडामा क्रमशः पुष्कर खड्का, सुन कुमार न्यायजु र आत्माराम काफ्लेको सभापतित्वमा ३१÷३१ सदस्य टोल समिति गठन गरेको थियो ।