नेपाल सांस्कृतिक संघले कांग्रेसको प्रचार गर्ने

काठमाण्डौं, माघ २६
नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा नेपाली कांग्रेसको प्रचार प्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरुलाई सक्रिय बनाउने भएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधवार पत्रकार सम्मेलन गर्दै संघले कांग्रेसलाई बहुमत दिलाउन सांस्कृतिक कार्यक्रमसहित ७७ वटै जिल्लाका जनताको घरआँगनमा पुग्ने जानकारी गराएको हो ।
संघले चैत्र मसान्तभित्र नेपालका ७ सय ५३ पालिकामा समग्र संगठनात्मक संरचना निर्माण गरी ती संगठनहरुद्धारा स्थानीय, प्रदेश र संघको निर्वाचनहरुमा सहभागिता जनाउने संकल्प र निर्णय पनि गरेको छ ।
कार्यक्रममा नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले कांग्रेस सबैको जनताको समस्या समाधान गर्ने, मजबुद पार्टी, देशको रक्षा, संरक्षण गर्ने ऐतिहासिक पार्टी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशलाई संरक्षण गर्नसक्ने बलियो आधार भएको पार्टी, जसले इतिहास बनाएको छ, जसले परिवर्तनका धेरै फड्कोहरु पार गरेको छ । पार्टीले देश विकासका धेरै निर्माण गरेको छ । कांग्रेसको विकल्प छैन् ।’
कांग्रेस विना यो मुलुकको समृद्धि र पुर्वाधार खडा हुन नसक्ने थापाले जिकिर गर्नुभयो । नेपालमा भएका अहिलेसम्मका विकासका काम ती सबै कांग्रेसको सरकारको समयमा भएको उहाँको दावी छ । उहाँले कांगे्रसलाई भोट दिएर जिताउन सकेमा मात्र मुलुक समृद्ध हुनसक्ने टिप्पणी गर्नुभयो । उहाँले आगामी दिनमा सबैको कांग्रेस बनाउन ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो ।
सभापति थापाले नेपालमा कला, संस्कृतिको धेरै महत्व रहेको उल्लेख गर्दै गीतको भाषामार्फत कांग्रेसको योगदान र अबको आवश्यकताबारे जनतासमक्ष पु¥याउने जानकारी दिनुभयो । सबै प्रदेशमा फागुनभित्रमा रहेका कलाकारहरुलाई प्रशीक्षण दिने कार्यक्रम तय गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तीनै तहका आगामी निर्वाचनमा कांग्रेसको जनमत बढाउनको लागि सांस्कृतिक कार्यक्रम तय गर्न खोजेका हांै ।’ सबै विधाका कलाकारहरुलाई केन्द्रीय समितिमा समेटेको बताउँदैं उहाँले आफुहरुले कांग्रेसलाई शसक्त र मजबुद बनाउन चाहेको पनि स्पष्ट पार्नुभयो ।
सबैभन्दा ठुलो कुरा लोकतन्त्र हो भन्दै उहाँले लोकतन्त्रको स्थायित्वको लागि पनि कांग्रेसले बहुमत ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले मुलुकमा धेरै काम गरेको छ, तर आफूले गरेको काम बाहिर देखाउँदैन् ।’ लोकतन्त्र र कांग्रेसको बारेमा गीत, नाटक र जिंगल्स बनाएर जनतालाई सरल र सहज भाषामा कांग्रेसको आवश्यकताबारे सुचित गराउने उहाँले बताउनुभयो ।