भक्तपुर नगरपालिकाको एघारौं नगरसभा शुरु

भक्तपुर, माघ २६
भक्तपुर नगरपालिकाको एघारौं नगरसभा बुधवारदेखी शुरु भएको छ । बैठकको अध्यक्षता गर्दै नगरप्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकता र सहयोगी भावनाले भक्तपुरको विकास र प्रगति सम्भव भएको बताउनुभयो ।
विचार र सिद्धान्तमा अडिग रही इमान्दारीपूर्वक जनताको सेवा गर्नु जनप्रतिनिधिहरुको कर्तव्य भएको बताउँदैं उहाँले सभामा सबै सदस्यहरुको सक्रिय सहभागिताको लागि आग्रह गर्नुभयो ।
उहाँले संसदीय निर्वाचनमा तीन प्रतिशत मत प्राप्त नगरेका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनमा दलीय हैसियतबाट चुनाव चिन्ह नदिने निर्वाचन आयोगबाट षड्यन्त्र भइरहेकोबारे सभासद्हरुलाई सचेत पार्दै घोषणापत्रअनुसार कार्य नगर्ने सबै राजनीतिक दलहरु पनि खारेज हुनुपर्ने बताउनुभयो ।
आ.ब. २०७८÷७९ को बजेट कार्यान्वयनको अबस्थाबारे जानकारी गराउँदें उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाईलगायत नगर र नगरबासीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूका साथै थुप्रै विकास निर्माणका कामहरू सम्पन्न गरिसकेको बताउनुभयो ।


केन्द्र र प्रदेशले स्थानीय तहलाई दिने विशेष अनुदानमा वृद्धि गर्नुपर्नेमा उल्टै सशर्त र समपूरक बजेटमा वृद्धि गर्नु संघीयता र संविधानको भावना विपरीत भएको बताउँदैं प्रमुख प्रजापतिले स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिइ केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गरी पठाउनु, प्रदेशले कर्मचारीको सरुवा बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकहरूलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप भएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
यसअघि सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले जनसहभागिता, जनश्रमदान, जनताको सहयोगमा जनताको सेवा गर्ने अग्रजहरूको मार्गनिर्देशनअनुसार नेमकिपाका जनप्रतिनिधिहरूले कार्य गर्नुपर्ने बताउनुभयो ।
सांस्कृतिक नगरका नगरबासीहरू परम्परागत र अन्धविश्वासी नभई विज्ञान र प्रविधिमैत्री समेत हुने भएकोले सोहीअनुसार नगरबासीहरूको सांस्कृतिक स्तर उकास्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संघीयताको पूर्ण कार्यान्वयनको लागि स्थानीय तहहरूलाई स्वायत्तता प्रदान गरी विकेन्द्रीकरणको सिद्धान्तलाई लागू गर्नुपर्ने उहाँले बताउनुभयो । अनावश्यक सवारीसाधनमा अत्याधिक खर्च गरी पुँजी निर्माण नहुने हुँदा यस्ता क्षेत्रहरूमा मितव्ययिता अपनाई देशको आन्तरिक उत्पादन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसदहरू ठेकेदार हुनु, सरकारको संरक्षणमा गैरकानुनी प्लटिङ हुनु, अयोग्य ठेकेदारमार्फत असुरक्षित र कमजोर निर्माण हुनु आदि कारणले देश अराजकतातर्फ बढिरहेकोमा सचेत पार्दै सांसद सुवालले जनप्रतिनिधिहरूले यस्ता विषयमा जनतालाई सचेत पार्नुपर्ने बताउनुभयो ।
बिलासी सुविधाका साथ लाखौं बहाल तिरेर होटलमा एमसीसीको कार्यालय सञ्चालन गरी अरबौं रकम दुरुपयोग भइरहेको बताउँदै उहाँले एमसीसी हिन्द प्रशान्त क्षेत्रको रणनीतिको एउटा भाग भएको र यसले देशको हित नगर्ने प्रष्ट पार्नुभयो ।
रेमिट्यान्सको भरमा देशको विकास सम्भव नहुने बताउनुहुँदै सांसद सुवालले स्थानीय तहले आ–आफ्नो निर्वाचन क्षेत्रका युवालाई रोजगारी दिने विषयमा कानुन बनाउन जरुरी रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँले जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नेमकिपाको परिचय बनिसकेको बताउनुभयो । सांसद गोसाइँले जनताको मन जितेर देशको भावना र आवश्यकताबमोजिम नेमकिपाले समाजवादी मर्मअनुसार काम गर्दै आइरहेको दावी गर्नुभयो । एमसीसी विना यो देश विकास सम्भव छैन भन्ने दास मानसिकता शासक दलमा रहेको उहाँले आरोप लगाउनुभयो ।
भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिक्षामा गरेको प्रगतिबाट ‘ख्वप मोडल’ विकास गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवाँ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वालगायतले नपाले गरेको असल र सफल कामबारे समीक्षा गर्न यो अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।