काठमाण्डौं उपत्यकामा आजदेखी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

भक्तपुर, माघ ८
कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि सर्वसाधारणको भिडभाड कम गर्न काठमाण्डौं उपत्यकामा आज (शनिवार)देखी अत्यावश्यक सेवा बाहेकका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । काठमाण्डौं उपत्यकाका काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुको संयुक्त बैठकले आजदेशी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण तिब्र रुपमा बढ्दै गएको सन्दर्भमा सो को रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको भक्तपुरका प्रजिअ रुद्रादेवी शर्माले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
प्रजिअ शर्माका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुनेछैन । यस्तै खाद्यान्न, दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधान पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ ।
निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने प्रजिअ शर्माले बताउनुभयो ।
सञ्चारकर्मीहरुले सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्रका आधारमा आवतजावत गर्न पाईने छ । सरकारी र कूटनीतिक नियोगका सवारी साधन पनि सञ्चालन गर्न पाइने छ ।