पुख्र्यौली पेशा संरक्षणमा जुटे मानन्धर युवा

लक्ष्मी गारु, भक्तपुर, माघ ४
नेवारी संस्कृतिमा पेशा व्यवसाय अनुसार थर राख्ने र जातिय पहिचान दिने परम्परा एवम् ईतिहास रहेको पाईन्छ । यही अनुसार विभिन्न समूदायको थर कायम रहेको छ । यस्तै एउटा समूदाय हो साय्मी अर्थात मानन्धर ।
मानन्धर समूदायको जातिय पहिचान बोकेको व्यवसाय हो, तोरीको तेलको व्यापार । तोरीबाट तेल उत्पादन गर्ने मेसिन कोललाई नेपाल भाषामा ‘साः’ भनिन्छ । ‘साः’ को मालिक भएकाले उनीहरुलाई साःमि भनियो । नेपाल भाषामा मि को अर्थ मालिक हो । त्यही ‘साःमि’ अप्रभंश हुँदैं साय्मी भएको हो ।
पछिल्लो समय साय्मीहरुको पुख्र्यौली व्यवसाय संकटमा परेको छ । नयाँ पुस्ता अन्य पेशा व्यवसायमा आकर्षित हुनु, उपत्यकालगायत काठ क्षेत्रमा तोरीको उत्पादन घट्दै जानु र आधुनिक प्रविधिबाट उत्पादित तेलले बजार बिस्तार गरेपछि यो व्यवसाय संकटमा पर्दै लोप नै हुने अवस्थामा पुगेको हो ।
आफ्नो पुख्र्यौली पेशा लोप हुने अवस्थामा पुगेपछि भक्तपुरका मानन्धर समूदायका केही व्यवसायी र युवाहरु यसलाई पुनर्जीवन दिँदैं ब्राण्ड समेत बनाउन जुटेका छन । भक्तपुरका मानन्धर समूदाय मध्ये केहीले यो पेशालाई जिवन्तता दिने प्रयास गरिरहेका छन । मध्यपुर थिमिको चोडे, भक्तपुर नगरका साःकोलान, टेखाच्व, तःपालाछि, गोमारीलगायतका केही सिमित मानन्धरहरुले अझै पुख्र्यौली पेशालाई निरन्तरता दिँदैं आएका छन । यीनै व्यवसायीहरुले सहकार्य गरी तोरीको स्थानीय उत्पादन तेललाई ब्राण्ड बनाउन र बजारमा प्रतिष्पर्धामा जाने तयारी गरेका हुन । उनीहरुको प्रयासलाई साथ दिने भएको छ, भक्तपुर चेम्बर अफ कमर्शले ।


भक्तपुर चेम्बर अफ कमर्सले स्थानीय उत्पादनको प्रर्बद्धन गर्ने भएपछि भक्तपुर जिल्ला मानन्धर युवा संघको अगुवाइमा करिव लोप हुने अवस्थामा पुगेको परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् । यसका लागि व्यवसायीहरुले प्रारम्भिक चरणको छलफल समेत गरिसकेका छन । भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका मानन्धरहरू सहभागीहरुको छलफलले तोरीको तेल उत्पादन सम्बन्धि अध्ययन समिति समेत गठन गरेको छ ।
समितिको संयोजकमा भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धर रहनु भएको छ भने सदस्यहरुमा बाबुकाजी मानन्धर, रामबहादुर मानन्धर, ज्ञानेन्द्र मानन्धर, उमेश मानन्धर, आनन्द मानन्धर र राजेश मानन्धर रहेका छन ।
‘लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामुहिक लगानीमा कम्पनीको रूपमा विकास गर्छाैं,’ भक्तपुर चेम्बरका अध्यक्ष एवम् अध्ययन समितिका संयोजक न्हुछेरत्न मानन्धरले भन्नुभयो ।


साना उद्योगको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेशा पुँजी तथा कच्चा पदार्थको अभाव, मौलिक उत्पादनको गुणस्तर सम्बन्धीको गुणदोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएको उहाँको दावी छ ।
भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवाहरूलाई समेटेर परम्परागत पेशालाई लोप हुनबाट बचाउने अभियानै सञ्चालन गर्ने योजना बनाएको छ । त्यसैले पुख्र्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्राण्ड बनाउनको लागि संघको अगुवाईमा अध्ययन समिति बनाएको अध्यक्ष न्हुँछेरत्नले बताउनुभयो । समितिले भक्तपुरमा स्थानीय स्तरमा परम्परागतरुपमा भईरहेको तोरीको तेलको उत्पादन, व्यवसायीका समस्या र चुनौतीका बारेमा व्यवसायीसँग थप छलफलका साथै यसको बजारको अवस्था, गुणस्तरका बारेमा समेत विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्य रहेको उहाँले बताउनुभयो । समितिले अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेत समेट्ने बताइएको छ ।
भक्तपुरका अन्य स्थानीय उत्पादनलाई पनि संरक्षण गरी ब्राण्ड बनाउन विभिन्न संघसंस्थाहरुले प्रयास गरिरहेका छन । भक्तपुर घरेलु तथा साना उद्योग संघले ‘गो लोकल’ परियोजना मार्फत स्थानीय उत्पादनको संरक्षण र बजार बिस्तारको कार्य गर्दै आइरहेको छ । भक्तपुरका स्थानीय उत्पादन जुजु धौ, कालो भादगाउँले टोपी, ह्याण्डीक्राफ्ट विश्व प्रसिद्ध छ भने लोकल रक्सी, चिउरा, चाकु लगायतका स्थानिय उत्पादन लोकप्रिय रहेको छ । तर आधुनिक प्रविधिसँगै स्थानीय उत्पादनले प्रतिष्पर्धा गर्न नसक्दा स्थानीय उत्पादन लोप हुने अवस्थामा पुगेको छ । सरकारी नीति तथा प्रोत्साहन अभावले पनि स्थानीय उत्पादन विस्तापित हुने अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो छ । स्थानीय उत्पादनलाई संरक्षण गरी बिस्तार गर्न सके एकातिर रोजगारीको सिर्जना हुनुका साथै अर्कोतर्फ विदेशी आयात प्रतिस्थापन गर्न समेत टेवा पुग्ने देखिन्छ ।

तस्विर ः के के मानन्धरको फेसबुकबाट