माटोका भाँडा फुटाई छ्याला पुन्ही मनाए

भक्तपुर, माघ ३
पौष शुक्ल पूर्णिमाको अवसरमा सोमवार नेवार समुदायले छ्याला पुन्ही मनाएका छन । नेवार समुदायले बिहानै चोक चोकमा घरमा भएका पुराना काम नलाग्ने चर्किएका माटोका भाँडा फुटाएर छ्याला पुन्ही पर्व मनाएका हुन ।
छ्याला पुन्हीमा नेवार समुदायले भोज खाने प्रचलन भने छैन । यसदिन पुराना माटाका भाँडा फुटाएर पर्व मनाउने गर्दछ । संस्कृतिविद ओम धौभडेलका अनुसार विशेष गरी नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा छ ।
सोही अनुसार दशैंमा नयाँ भाँडा भित्र्याउने र छ्याला पुन्हीमा फाल्ने प्रचलन रहेको उहाँले बताउनुभयो । पुराना काम नलाग्ने भाडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वास रहेको छ । सोही कारण वर्षमा एकपटक छ्याला पुन्हीका दिन भाडा चोकमा फालिने गरेको संस्कृतिविद धौभडेलले बताउनुभयो ।
अर्को किंवदन्ती अनुसार पौष शुक्ल पुर्णिमाको दिन धर्तीलोकबाट नारायण स्वर्गलोकतर्फ जाँदै थिए । स्थानीय बासिन्दाले यसको भेउ पाए र नारायण हिँड्ने बाटोको दोवाटो र चोक चोकमा माटाका भाँडा फुटाएर फाले । यसले गर्दा नारायण यात्रामा अशुभ भएको भन्दै धर्तीमा नै बास बसे । यही कारण पौष शुक्ल पुर्णिमाका दिन नेवार समुदायले माटोका भाँडा फुटाएर छ्याला पुन्ही पर्व मनाउन थालेको विश्वास गरिन्छ ।
आधुनिकतासँगै छ्याला पुन्हीमा भाँडा फुटाउने प्रचलन लोप हुँदै गएको छ । यस्तो पर्वलाई जीवन्तता दिनसके एकातिर परम्परागत भाँडाकुँंडा बनाउने पेशाको संरक्षण हुने र अर्कोतिर संस्कृतिले जिवन्तता पाउने धौभडेलको विश्वास छ ।