भक्तपुर, पुस ८
कथा र उपन्यास लेखनमा सकृय लेखक राजु अधिकारीको दोश्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित भएको छ । विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र रहस्यमा आधारित छ । विगत दुई वर्ष भन्दा बढी समयदेखि नेपालमा इ–बुकहरूको प्रकाशन, बिक्री वितरण र प्रवर्धन गरिरहेको थुप्रै प्रकाशनले यो उपन्यास पनि इ–बुक को रुपमा बजारमा ल्याएको हो ।
यो उपन्यासमा सफल र आरामदायी जीवन बिताइरहेको एक युवा आफ्ना इच्छा, उद्देश्य र महत्वाकांक्षाहरू जीवनको वास्तविकतासँग बाझिन जाँदा कसरी आफ्नै सोचको द्वन्द्वमा फस्न पुग्छ र त्यसबाट उम्कन के गर्छ भन्ने कुरा रहस्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।
उपन्यास चीनको आर्थिक केन्द्र साङ्घाईको सेरोफेरोमा घुम्छ । उपन्यासमा साङ्घाईमा बस्ने विदेशीहरूको जिवन र चीनमा विगत दुई दशकमा भएका सामाजिक र आर्थिक परिवर्तनको बारेमा पनि रोचकरुपमा प्रस्तुत गरिएको छ ।
उपन्यास थुप्रै डट कम को वेबसाइट र मोबाइल एपमा इ–बुकको रुपमा संसारभरी उपलब्ध रहेको प्रकाशकले जनाएको छ ।