ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त – सन्दीप राष्ट्रिय टोलीको कप्तान नियुक्त

भक्तपुर, पुस १
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित चार जनालाई अनुशासनको कारवाही गर्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । क्यानले मल्ललाई कप्तानको जिम्मेवारीबाट हटाउँदैं सन्दिप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ ।
खेलाडी वर्गिकरणका विषयमा उत्पन्न विवादका कारण क्यानले चार जना खेलाडीलाई कारवाही गरेको हो । कारवाहीमा परेका अन्य खेलाडीमा सोमपाल कामी र कमलसिंह ऐरी छन । उनीहरु चारै जनालाई सन् २०२२ को केन्द्रीय ग्रेडमा शुरुवाती ६ महिना सहभागी नगराउने निर्णय क्यानले गरेको हो ।


क्यानको अनुशासन उलंघन सम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिश गरे बमोजिम खेलाडी आचार संहिता उलंघन गरेको भन्दै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको हो ।
कप्तान पारस खड्काको राजीनामापछि ज्ञानेन्द्र २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए । उनको कप्तानीमा नेपालले प्रर्दशन अन्तर्राष्ट्रिय क्रिकेटमा औसत रहँदै आएको थियो ।
ज्ञानेन्द्र, दीपेन्द्र सिंह, सोमपाल र कमलले क्यानले ग्रेड सार्वजनिक नगर्दै एक मिडियामा त्यसबारे विरोध जनाएपछि क्यानले दुई पटक स्पष्टिकरण सोधेको थियो । सोमपालले आफू बी मा हुँदा अन्याय भएको र सी मा परेका कमलले पनि असन्तुष्ट जनाएका थिए । ज्ञानेन्द्र र दीपेन्द्र भने ग्रेड ए मा थिए । ग्रेडमा केन्द्रित रहेर खेलाडीले आलोचना गरेका थिए । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोधेको थियो ।
खेलाडीले कात्तिक ३० मा क्यानलाई जवाफ दिए । तर क्यान सन्तुष्ट भएन । ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गिकरण बारे स्पष्टीकरण सोधेका थिए । त्यसपछि विवाद झन बढ्दै गएको थियो । क्यानले मंसिर ८ मा तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो ।
यसैबीच चार खेलाडीलाई कारवाही गर्ने निर्णयमा क्यानका ६ बोर्ड सदस्यले असहमति जनाउँदैं नोट अफ डिसेन्ट लेखेका छन । क्यानले बुधबार भर्चुअल माध्यमबाट राखेको बोर्ड बैठकमा सहभागी मध्ये केन्द्रिय सदस्य छुम्बी लामा, करण महतरा क्षेत्री, मोहम्मद दाउद अन्सारी, ऋषिराम गौतम र अमित वीर पाण्डेले खेलाडीलाई ग्रेडमा सहभागी नगराउने निर्णयमा असहमति जनाउँदैं नोट अफ डिसेन्ट जनाएका हुन् ।