मानवअधिकारको मुलभुत पक्षलाई स्थानीय तहबाटै कार्यान्वयन गर्नुपर्नेमा जोड

भक्तपुर, मंसिर २५
मानवअधिकारको राष्ट्रिय कार्ययोजना र मुलभुत पक्षहरुलाई स्थानीय तहबाटै कार्यान्वयन गर्दै लैजानु पर्नेमा स्थानीय सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले स्थानीय तहले नागरिक समाज र संघ संस्थाहरुसँगको समन्वयमा ठोस कार्ययोजना तयार गरी मानवअधिकारको राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा लानुपर्ने सुझाव समेत दिएका छन ।
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२१ को अवसरमा चाँगुनारायण नगरपालिकामा आयोजित मानव अधिकार राष्ट्रिय कार्ययोजना र स्थानीय तहमा यसको कार्यान्वयन सम्बन्धि कार्यशाला गोष्ठीमा सहभागीहरुले मानवअधिकार उल्लंघनमा शून्य सहनशीलता अपनाउनु पर्ने विचारहरु व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले मानवअधिकार सुनिश्चित गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने र नागरिक समाज संघ संस्थाहरुसँग सदैव हातेमालो गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
उहाँले नगरपालिकाबाट हुने सार्वजनिक सेवा प्रवाहको क्रममा हुन सक्ने कमि कमजोरीहरु औँल्याई दिएर आवश्यक राय सुझाव सल्लाहहरु दिन समेत नागरिक समाजलाई अनुरोध गर्नुभयो ।
कार्याशाला गोष्ठीले मानवअधिकार राष्ट्रिय कार्ययोजना स्थानीय तहमा यसको कार्यान्वयन गर्न ठोस कार्ययोजना तयार पार्न नगरपालिकाबाट विधायन समितिका सदस्य सपना तामाङको संयोजकत्वमा पाँच सदस्यीय नगरपालिकाका विधायन समितिका सदस्य सरुना परियार, कर्मचारी आशा माझी, नेपाल बार एशोसियसनका प्रतिनिधि रामभक्त सुवाल र गैसस महासंघका पहलमान श्रेष्ठ प्रतिनिधिरहेको कार्यदल गठन गरेको थियो ।
गोष्ठीमा मानवअधिकारकर्मी मीना शर्माले मानवअधिकार राष्ट्रिय कार्ययोजनाको बारेमा छलफल गरि यसको आवश्यकता र औचित्य स्थानीय तहमा कसरी कार्यान्वयन गर्न सकिन्छ र मानव अधिकारका मुलभुत सिद्धान्तहरुलाई लागू गर्न स्थानीय तहले कसरी योजना बनाउनु पर्छ भन्ने विषयमा रहेर प्रस्तुतिकरण गर्नुभएको थियो ।