नगर प्रमुख प्रजापतिलाई पुस्तकालय कार्यदलको प्रतिवेदन हस्तान्तरण

भक्तपुर, मंसिर २१
भक्तपुर नगरपालिकाले नगरभित्रका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको सुधारको लागि सुझाव पेश गर्न गठित कार्यदलले मंगलवार नगरप्रमुख सुनिल प्रजापति समक्ष प्रतिवेदन पेश गरेको छ । गत असोज १९ गते नगरप्रमुख प्रजापतिको अध्यक्षतामा बसेको बैठकले सो कार्यदल गठन गरेको थियो ।
नगरपालिकाद्वारा संचालित जनज्योति पुस्तकालयका पुस्तकालय अधिकृत भूपाल मूलको संयोजकत्वमा गठित कार्यदलले नगरभित्रका ३२ मध्ये २६ वटा पुस्तकालय र वाचनालयको स्थलगत अध्ययन तथा तथ्यांक संकलन गरी प्रतिवेदन तयार पारेको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।
प्रतिवेदनमा पुस्तकालयहरुको सुधारको लागि नगरपालिकाले आर्थिक र भौतिक सहयोग गर्नुपर्ने, प्राथमिक चरणमा भक्तपुर नगरपालिकाबाट प्रकाशित सबै पाठ्यसामाग्री र भक्तपुर मासिक, ख्वप पौ, मजदुर र श्रमिकलगायतका पत्रिका उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा काम गर्ने जनशक्तिलाई पुस्तकालयसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्नेलगायत ११ वटा सुझावहरु दिएको छ ।
प्रतिवेदन ग्रहण गर्दै नगर प्रमुख प्रजापतिले सार्वजनिक पुस्तकालयले देशमा सामाजिक न्याय, सभ्यता र समानतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका रहने हुँदा सबैले अपनत्व ग्रहण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले पुस्तकालय नागरिकहरुमा चेतना फैलाउने मुख्य आधार भएकोले कार्यदलबाट प्राप्त सुझावका आधारमा नगरमा रहेका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको स्तरोन्नति गर्न भौतिक तथा आर्थिक सहयोग गर्न सकिने कुरा बताउनुभयो ।
कार्यदलमा रविन्द्र प्रसाद कुसी, (प्रगति पुस्तकालय), दिनेश खड्गी (लेनिन पुस्तकालय), कृष्ण प्रसाद सुवाल (शहिद राजकुमार स्मृति पुस्तकालय), रामकृष्ण मूलगुठी (मंगलाछें युवा क्लब तथा पुस्तकालय) सदस्य रहेका छन ।