नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

भक्तपुर, मंसिर २०
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको यो नयाँ भेरियन्ट नेपालमा पहिलो पटक एक विदेशी नागरिक र उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेका एक नेपालीमा आइतवार पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।
गत मंसिर ३ गते नेपाल प्रवेश गरेका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको देश हुँदैं ती विदेशी हवाई मार्गबाट नेपाल प्रवेश गरेका थिए । गत मंसिर ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्दा ती व्यक्तिले खोप सम्बन्धी सबै मापदण्ड पालना गरेको र नियमानुसार पिसिआर रिपोर्ट नेगेटिभ पाईएको मन्त्रालयले जनाएको छ । ती विदेशी नागरिकसँगै प्रत्यक्ष सम्पर्कमा रहेका ७१ वर्षिय नेपाली नागरिकमा मंसिर ७ गते कोरोनासँग मिल्दा जुल्दा लक्षणहरु देखिए पश्चात परिक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आएको थियो ।
कोभिड –१९ परीक्षणमा पोजिटिभ आएकाहरुको एस–जिन परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस–जिन फेला नपरेको मन्त्रालयले जनाएको छ । एस–जिन फेला नपरेका उक्त दुवै नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा मङ्सिर १९ गते राति कोभिड –१९ को नयाँ भेरियन्ट ओमिधmोन नेपालमा पहिलो पटक पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ । ‘हाल उहाँहरुमा कुनै लक्षणहरु देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ,’ स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तीमा उल्लेख छ ।

उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टबाट जोगिन पनि जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न सबैलाई आग्रह गरेको छ ।
यससँगै नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङको कार्यलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जानकारी दिएको छ । ‘आम नागरिकलाई ओमिक्रोन सम्बन्धी वैज्ञानिक तथ्य प्रेषण गर्न विश्वमा भएका यस सम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सहि सूचनाहरु आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ । कोभिड १९ का अरु भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरूको पालना ( मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने ) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनुहुन अनुरोध छ,’ मन्त्रालयले जारी विज्ञप्तीमा उल्लेख छ ।
यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो । नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेको, खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरूको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमुना संकलन गरी पिसिआर गर्ने र शंकास्पद नमुनाहरूको जिन सिक्वेसिङ गर्ने गरिएको छ । यसका साथै बिगत एक महिना अगाडी देखी पोजिटिभ भएका नमुनाहरूको थप परिक्षण गर्ने गरिएको छ ।
कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तित भेरियन्ट (ओमिक्रोन) पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । हालसम्म यो भेरियन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरुमा करिव ६ सय जनामा ओमिक्रोन भेरियन्ट संक्रमित देखिएका छन् ।
विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण एशियाका केहि देशहरुमा समेत यो भेरियन्ट पुष्टि भैसकेको छ । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको मन्त्रालयले जनाएको छ ।