भक्तपुर, मंसिर १७
बाला चतुर्दशीको अवसरमा शुक्रवार बिहानैदेखी पशुपतिमा पितृका नाममा शतबीज छर्नेको घुईंचो लागेको छ । त्रयोदशीका दिन बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका हुन ।
उपत्यकाका नेवार समूदायलगायतको त्रयोदशीका दिन राती जाग्रामबसी अखण्ड दीपदान गर्ने प्रचलन नभएपनि बालाचतुर्दशीका दिन बिहानै शतबीज छर्न पशुपति आएका थिए ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेको छ । यसवर्ष पनि यसरी आएका भक्तजनहरु बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गरी रातभर जाग्राम बसेका थिए । जाडोको मौसम भएकाले भक्तजन स्वयम्ले पालको समेत व्यवस्था गरी जाग्राम बसेका थिए । पशुपति क्षेत्र विकास कोषले पनि पाल लगायतको व्यवस्था गरेको जनाएको छ । सुरक्षाको पनि उचित व्यवस्थापन गरिएको छ । पशुपति क्षेत्रमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।
शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहूँ, चना, मकै, कागुनो, मुलो, काँक्रो, पिँडालु, फुललगायत) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ ।
भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेकोथाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।
यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।
त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।
आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको किंवदन्ती पाईन्छ ।