नेपाली कांग्रेस बागमति प्रदेश अधिवेशन ः भक्तपुरका नेता मदनकृष्णको उपसभापति र सुरेशको महामन्त्रीमा उम्मेदवारी

भक्तपुर, मंसिर १७
नेपाली कांग्रेस भक्तपुरका नेता एवम् महासमिति सदस्य मदनकृष्ण श्रेष्ठले नेपाली कांग्रेस बागमति प्रदेश समितिको उपसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेस संस्थापनपक्ष सभापति शेरबहादुर देउवा पक्षीय नेता श्रेष्ठले ईन्द्र बाँनियाको समूहबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले कांग्रेसलाई बागमति प्रदेशमा पहिलो पार्टीको रुपमा स्थापित गर्ने लक्ष्यका साथ उपसभापतिको आकांक्षी बनेको बताउनुभयो । सो अवसरमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रको स्थायित्व र संस्थागत विकासको लागि बागमति प्रदेशमा कांग्रेसको नेतृत्व बाँनियाले गर्नुपर्ने खाँचो देखिएको बताउँदैं बागमति प्रदेशमा कांग्रेसलाई थप मजबुद बनाई पहिलो पार्टीको रुपमा स्थापित गर्न बाँनियाको समूहलाई जिताउनुको विकल्प नभएकोमा जोड दिनुभयो ।


त्यसैगरी सिटौला पक्षीय भिमसेनदास प्रधानको समूहबाट महामन्त्रीमा भक्तपुरका युवा नेता सुरेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन ।
भक्तपुरबाट कार्यसमितिमा भक्तपुरका प्रतिनिधिहरु कमला कर्माचार्य, प्रविन लाखे, ज्ञानदास प्रजापति, ईन्द्रबहादुर प्रजापति, श्रीकृष्ण श्रेष्ठलगायतले उम्मेदवारी दिएका छन ।
भक्तपुरबाट विभिन्न समूह र खेमामा निर्वाचित भएर बागमति प्रदेशको प्रतिनिधि चयन भएर गएका सबै भक्तपुरका उम्मेदवारको पक्षमा एकढिक्का भएको नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले बताउनुभयो । जुनसुकै समूहबाट उम्मेदवार भएपनि भक्तपुरका नेता निर्वाचित हुने र त्यसले भक्तपुरमा पार्टी थप शसक्त र बलियो बनाउन मद्दत पुग्ने भएकाले भक्तपुरका प्रतिनिधि एक ढिक्का भएको उहाँले बताउनुभयो ।


नेपाली कांग्रेसले पहिलो पटक प्रदेशस्तरीय अधिवेशन मंसिर १७ र १८ गते सातै प्रदेशमा गर्दैछ । बागमति प्रदेशको अधिवेशन मकवानपुरको हेटौंडामा जारी रहेको छ । बागमति प्रदेशको नेतृत्वको लागि त्रिपक्षीय प्रतिष्पर्धा हुँदैछ ।
बागमति प्रदेशको सभापतिमा संस्थापनपक्षबाट बाँनिया, नेता कृष्णप्रसाद सिटौला पक्षबाट भिमसेनदास प्रधान र वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला पक्षबाट नुवाकोटका जगदिश्वर नरसिंह के सीले उम्मेदवारी दिएका छन ।