नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको आठौं साधारणसभा सम्पन्न

भक्तपुर, कार्तिक २४
नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाले नेपाल संवतको भित्तेपात्रो प्रकाशन गरेको छ । दबूको आठौं साधारणसभाको अवसरमा बुधवार सो भित्तपात्रो सार्वजनिक गरिएको हो ।
सो अवसरमा दबूका केन्द्रीय अध्यक्ष सुरजबिर बज्राचार्यले नेवाः पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिमहरु आवश्यक भएको बताउँदैं दबूले त्यस्ता कार्यक्रम र तालिमको लागि पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले दबूले मातृभाषा पत्रकारितामा विषेश कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
दबूका केन्द्रीय सचिव के के मानन्धरले नेवाः पत्रकारहरु धेरै भए तापनि अझ पनि मुख्य ठाउँमा पुग्न नसकेको र संचार क्षेत्रमा अग्रभागमा बसेर काम गर्न नसकेको बताउनुभयो । उहाँले नेवाः पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रमको खाँचो रहेको औंल्याउनुभयो ।


दबूका केन्द्रीय सहकोषाध्यक्ष बाबुकाजी साँछेंले पत्रकार महासंघसँग आबद्ध नभएका नेवाः पत्रकारहरुलाई आवश्यक सहयोगको लागि स्थापना गरिएको कल्याणकारी कोषमा करिव २० लाख रुपैयाँ जम्मा भईसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा दबूका भक्तपुर रामगोपाल तमखुले आफ्नो दुई बर्षको कार्यकालमा पहिलो बर्ष सोचे अनुसारको केही काम गर्न सफल भएपनि दोस्रो वर्ष कोभिडका कारण काम गर्न नसकिएको बताउनुभयो ।
सो अवसरमा राससका पत्रकार रत्न श्रेष्ठले आफ्ना आमाबुवाको नाममा नगद १० हजार सहितको स्व.हरिलाल श्रीलक्ष्मी स्मृति नेवाः पत्रकारिता पुरस्कारको स्थापना गरिने ब्यवस्था गरेको जानकारी दिईएको थियो ।