नयाँ पुस्ता तयार नहुँदा नवदुर्गाको मुकुण्डो बनाउने पेशा संकटमा

लक्ष्मी गारु, भक्तपुर, असोज २०
भक्तपुरको ऐतिहासिक एवम् साँस्कृतिक महत्वको नवदुर्गा देवगणको मकुण्डो बनाउने पेशा संकटमा परेको छ । आर्थिक अभावसँगै मुकुण्डो बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेशा संकटमा परेको हो ।
नवदुर्गा गण नाचको लागि आवश्यक विभिन्न देवी देवताहरुको १३ वटा मुकुण्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एक जनामात्र संलग्न हुनुहुन्छ । उहाँको परिवारका सदस्य समेत यो पेशाबाट विमुख हुँदै गएका छन । पुर्ण चित्रकारपछि यो पेशा कसले सम्हाल्ने, यसको जवाफ कसैसँग छैन ।
प्रत्येक वर्ष नयाँ बनाउनु पर्ने मुकुण्डो तयार नभए नवदुर्गा नाच समेत बन्द हुन्छ । भक्तपुरको सबैभन्दा महत्वपुर्ण नाचको रुपमा रहेको नवदुर्गा नाचको मुकुण्डो बनाउन नयाँ कालिगढ तयार गर्ने सम्बन्धमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
नवदुर्गा देवगणको १३ वटा मुकुण्डो तीन महिनामा तयार गर्नुपर्दछ । घण्टाकर्ण चतुर्दशीका दिन मुकुण्डो बनाउने कार्यको शुभारम्भ हुन्छ । मुकुण्डो बडादशैंको महानवमीको दिन प्रदर्शन गर्न तयारी अवस्थामा राख्नुपर्दछ । तर यो वर्ष देवगाणहरुको नंकी विवादले दुई हप्ता पछि मात्र मुकुण्डो बनाउने कार्य थालेको हो ।
मुकुण्डो बनाउन कालोमाटो, विभिन्न किसिमका ढुङगाबाट बनेको रङग, सुन, मैदा, मटितेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडालगायतका सामाग्री आवश्यक पर्दछ । हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदार समेत पाउन मुस्किल रहेको चित्रकार बताउनुहुन्छ ।

मुकुण्डो बनाउन पहिला माटोलाई धुलो बनाएर चाल्ने, त्यसपछि मैदाको माड बनाई धुलो माटो हाल्दै मुछ्ने र डल्ला डल्ला बनाई राखिन्छ । सो डल्लो सुकेपछि कपास र नेपाली कागज राखी फुटाउनु पर्छ । अनिमात्र मकुण्डो बनाउने कार्य शुरु हुने चित्रकारले बताउनुभयो । “मुकुण्डो बनाइसकेपछि घाममा सुकाउनु हुँदैन हावाले मात्र सुकाउनु पर्छ । एउटा मुकुण्डो सुकाउन कम्तिमा दुई हप्ता लाग्छ ।” उहाँले भन्नुभयो ।
मुकुन्डो मात्र बनाएर पुग्दैन घण्टाकर्णका दिन नवदुर्गाको मुकुन्डो बनाउनलाई माटोको पुजा गर्नुपर्दछ । यसरी माटोलाई पुजा गर्न आउने बाजागाजा सहितको टोलीलाई भोज खुवाउनुपर्ने बाध्यता छ । नवदुर्गा नाचलाई जीवन्तता दिई परम्परा लोप हुनबाट बचाउने हो भने सम्बन्धित निकायले वर्षेनी मुकुन्डो बनाउनका लागि उचित आयस्ताको बन्दोबस्त गर्न चित्रकारले माग गर्नुभएको छ । मुकुण्डो बनाउन आवश्यक रकमको जोहो भए मात्र नयाँ पुस्ता तयार हुन सक्ने उहाँले बताउनुभयो ।
मुकुण्डो बनाउन कामदारको ज्याला, आवश्यक सामाग्री खरिद र आफ्नो ज्याला समेत जोड्दा वर्षेनी तीन लाख खर्च हुने गरेको उहाँले बताउनुभयो । मुकुण्डो बनाउन दुईवर्ष अघि देखी नियमित रुपमा गुठी संस्थानले ४० हजार, भक्तपुर नगरपालिकाबाट एक लाख १६ हजार र बनेपा नगरपालिका बाट १२ हजार दिने गरेको उहाँले बताउनुभयो । “अन्य स्रोत केही छैन । सहयोग दातासँग सहयोग मागे मात्र हो । उहाँले भन्नुभयो, आम्दानी भन्दा बढी खर्च हुने भएकाले घरपरिवारले समेत मुकुण्डो नबनाउन दवाब दिने गरेको छ । आम्दानी भन्दा खर्च बढी । ”
उहाँले रकम नपुग भएको विषयमा गुठी संस्थानमा पटक पटक गुनासो लिएर गएपनि हुन्छ हुन्छ भन्ने तर सहयोग भने नगर्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, गुठीका हाकिम वर्षदिन नपुग्दै सरुवा हुन्छ र अर्को आउँछ । कति ताकेता गर्नु ? आश्वासन बाहेक केही पाइएन ।”
गुठी संस्थान भक्तपुरका आन्नद कर्माचार्यले मुकुण्डोको बनाउन वर्षेनी ४० हजार दिँदै आएको जानकारी दिनुभयो । रकम अपुग भएको स्विर्कार गर्दै गर्नुभयो प्रमुख आचार्यले भन्नुभयो, “गुठीबाट दिइरहको रकम अलि अपुग होला तर उहाँले मागेको रकम गुठीबाट उपलब्ध गराउनु अलि सम्भव छैन । यो नै पहिला भन बढाएको दिएको हो । उहाँको मागलाई केन्द्रमा पठाएको छु गुठीले बेवास्ता गरेको छैन । उहाँको माग पुरै पुरा नहोला तर केही सम्बोधन भएर आउन सक्छ ।”
वि.सं. २०२० सालदेखी नवदुर्गा देवगणको मुकुण्डो बनाउँदै आउनुभएका चित्रकार अहिले ७५ औं बसन्त पार गर्ने तरखरमा छन । उहाँले धर्म संस्कृतिको जगेर्नाको लागि मात्र मुकुण्डो बनाउन नछोडेको स्पष्ट पार्नुभयो । उहाँले उमेरले समेत साथ छोड्दै ल्याएकाले आफु पछि कसले मुकुण्डो बनाउँछ भन्ने चिन्ता लाग्न थालेको बताउनुभयो । सम्बन्धीत निकायले चासो दिएर आवश्यक रकमको बन्दोबस्त गरिदिए मुकुण्डो बनाउन नयाँ पुस्ता आकर्षित हुने, नभए आफुसँगै मुकुण्डो बनाउने कार्य लोप हुने भयले सताउन थालेको उहाँले बताउनुभयो । नवदुर्गाको मुकुण्डो मैले नबनाए जिम्मेवारी बोक्ने को ? यो पेशालाई निरन्तरता दिने कसले ? उहाँको प्रश्न रहेको छ । उहाँले भन्नुभयो, “अरुको त के कुरा गर्ने मेरो छोराहरुले नै यस कार्यलाई निरन्तरता नदिने भन्छन् । यसको निरन्तरताको लागि सम्बन्धित निकायहरुले आवश्यक आर्थिक सहयोग गर्ने भए यो कार्यलाई निरन्तरता दिने नत्र सकिन्न ।