शंखधरचोकमा दशैं तिहार बजार मेला

भक्तपुर, असोज १६
बायरिलाँ टोल सुधार समितिको आयोजनामा मध्यपुर थिमि शंखधरचोकमा दशैं तिहार बजार मेला खुलेको छ । मेला आगामी कार्तिक २७ गतेसम्म सञ्चालन हुनेछ ।
दशैं तिहार जस्ता चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुका साथै लत्ताकपडा र आवश्यक घरायशी सामग्री उपलब्ध गराउने उद्देश्यले दशैं तिहार बजार मेला आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । मेलामा प्रत्येक शनिबार सांस्कृतिक झांकी प्रस्ततु गर्नुका साथै नेवाः परिकारहरुको स्टल राखिने छ । मेला स्थलका प्रत्येक पसलबाट एक हजार रुपैंया बराबरको सामग्री खरिदमा ग्राहकलाई उपहार कुपनको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
मेलाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्थानीय व्यापार व्यवसाय प्रवद्र्धनमा मेला महोत्सव प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ४ का वडाअध्यक्ष कुमार श्रेष्ठ, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, कार्यक्रम संयोजक रत्न श्रेष्ठ, उपाध्यक्ष उमेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।