सल्लाघारी चोकमा भएको दुर्घटनामा मोटरसाइल चालकको मृत्यु

भक्तपुर, असोज १२
भक्तपुरको सल्लाघारी चोकमा सोमवार राती भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । सल्लाघारी चोकस्थित अरनिको राजमार्गमा नगरकोट मोडबाट काठमाण्डौं तर्फ जादै गरेको प्रदेश ३–०२–००८ प २५०१ नं.को मोटरसाईकललाई सूर्यबिनायकबाट राधेराधेतर्फ जादै गरेको आर जे ०२ जी बि १९१७ भारतीय नं.को १८ चक्के खाली टेलर गाडीले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सूर्यबिनायक नगरपालिका वडा नं. ३ बालकोट बस्ने ४५ वर्षिय गणेश रजौरा हुन । टेलरको ठक्करले रजौरा र मोटरसाइकलमा सवार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार बस्ने २८ वर्षिय अमृत सिलवाल घाईटे भएकोमा घटनास्थल नजिक ड्युटीमा रहेका प्रहरीले तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारका क्रममा रजौराको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिए ।
घाईते सिलवाल उपचारपछि घर फर्किएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो । प्रहरीले मोटरसाईकल, टेलर र टेलर चालक देश भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने ५० वर्षिय महादेव शर्मालाई नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरिक्षक बिष्णुहरी फुयालको नेतृत्वमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले अनुसन्धानका क्रममा तिब्र गति र पानी परिरहेको कारण बाटो चिप्लो भई दुर्घटना भएको खुल्न आएको प्रनाउ गिरीले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।