बागमति प्रदेशमा नेकपा एकिकृत समाजवादीद्धारा सरकारको समर्थन फिर्ता

भक्तपुर, भाद्र २८
नेकपा (एकिकृत समाजवादी) रोजेका बागमति प्रदेशका सांसदहरुले अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा एमालेको सरकारलाई समर्थन नरहेको जनाएको छ । नवगठित नेकपा (एकिकृत समाजवादी)को संसदिय दलको आइतवार हेटौंडामा बसेको बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नहुने निर्णय गरेको हो ।
जेष्ठ सांसद माधव पौडेलको अध्यक्षतामा बसेको बैठकले सांसद राजेन्द्र पाण्डेलाई संसदिय दलको नेता चयन गरेको प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । बैठले संसदिय दलको विधान समेत पारित गरेको छ ।
पाण्डे बागमति प्रदेशको मुख्यमन्त्रीको दावेदार समेत हुनुहुन्छ । बागमति प्रदेशमा नेकपा एकिकृत समाजवादीले सरकारको नेतृत्व पाउने अवस्थामा पाण्डे मुख्यमन्त्री बन्ने छन ।
नेकपा एकिकृत समाजवादी दर्ता भएसँगै बागमति प्रदेशमा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । नेकपा एकिकृत समाजवादीको पक्षमा १३ सांसद रहेका छन । बागमति प्रदेशमा नेकपा एकिकृत समाजवादी चौंथो ठूलो दल बनेको छ ।
बागमति प्रदेशमा नेकपा एकिकृत समाजवादीले औपचारिक मान्यता पाएसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । शाक्यले अब एक महिनाभित्र संसदको विश्वासको मत लिनुपर्ने भएको छ ।